२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतबाट आएकालाई परीक्षणविनै गाउँ पठाउँदै प्रदेश सरकार

भारतबाट आएका नागरिकहरुलाई कोरोना परीक्षण नगरेरै कर्णाली प्रदेश सरकारले गाउँगाउँ पु-याउन थालेको छ। भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीबासीहरु फर्कनेक्रम सुरु भएको छ। दुई दिनको अवधिमा आएका कर्णालीका करिव पाँच सय नागरिकहरु स्वास्थ्य परीक्षणविनै गाउँ पुगेका छन्। अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकहरुलाई परीक्षणविनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा बढेको छ।

भारतमा रेल चल्न सुरु भएसँगै प्रदेश सरकारले बबईमा एक सय बेडको क्वारेन्टाइन र उनीहरुको आरडिटी टेस्ट गर्ने निर्णय गरेको थियो। आफ्नै निर्णयविपरित प्रदेश सरकारले अहिले धमाधम परीक्षणविनै भारतबाट आएका नागरिकहरुलाई बसमा राखेर गाउँ पठाइरहेको छ।  

सोमबार विहानै कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ४९ जना कर्णालीबासीलाई स्वास्थ्य परीक्षणविनै बसमा राखेर कर्णाली गाउँ पठाइएको छ। प्रहरीका अनुसार सोमबार विहान गौरीफन्टा नाकाबाट ल्याइएका सुर्खेतमा ३६, दैलेखका आठ, रुकुमका तीन, सल्यानका एक र कालिकोटका एक जनालाई सम्वन्धीत जिल्लामा पठाइएको छ। अरु आउनेक्रम जारी छ। नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा स्थापना गरिएको चार सय बेडको क्वारेन्टाइन खाली हुँदाहुँदै भारतबाट आएका नागरिकहरु गाउँ पठाउँदा कोरोनाको संक्रमण बढ्ने स्थानीय तहका प्रतिनिधिहरु बताउँछन्।

दुई दिनअघि पूर्वी सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुनेका स्थानीय तहले आफ्ना नागरिक परीक्षणविनै लिन मानेनन्। उनीहरु अहिले वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा छन्। बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले कोरोना परीक्षणविनै गाउँमा ल्याउँदा संक्रमण बढ्ने जोखिम हुने बताए। ‘भारतबाट आएका नागरिकहरुलाई नाकामै प्रदेश सरकारले परीक्षण गरेर गाउँ पठाउँदा ढुक्क हुन्छ,’ उनले भने, ‘परीक्षणविनै गाउँ ल्याउँदा जोखिम हुने भएकाले हामीले नल्याएका हौं।’  

प्रदेश सरकारले बबईमा क्वारेन्टाइन र स्क्रिनिङ सेन्टर स्थापना गर्ने भनृपनि ठाउँ अभावले संभव नभएको बताएको छ। ‘बबईमा स्क्रिनिङ सेन्टर र क्वारेन्टाइन राख्न ठाउँ अभाव भयो,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘अव बबईको सट्टा छिन्चुमा राख्ने विषयमा छलफल भइरहेको छ।’ मन्त्री रावलले भारतबाट आएका कर्णालीका नागरिकहरुको सीमामै सम्वन्धीत प्रदेश सरकारले चेकजाँच गरेकाले बबईमा छुट्टै चेकजाँच नगरिएको बताए।

‘केही चोर बाटोबाट पनि प्रदेश नाकामा पुगेका छन्,’ उनले भने, ‘त्यस्ता नागरिकहरुको भने हामी अनिवार्य चेकजाँच गछौं।’ मन्त्री रावलले छिन्चुको शारदा मावि र नजिकैको स्वास्थ्य चौकीमा क्वारेन्टाइन र स्क्रिनिङ सेन्टर राख्ने विषयमा छलफल भइरहेको बताए।

‘भारतबाट आउने नागरिकहरुको आरडिटी चेक गर्ने, विवरण अद्यावधिक गर्ने र सम्वन्धीत स्थानमा नपु¥याउँदासम्मका लागि सोही स्थानमै राख्ने विषयमा सम्वन्धीत स्थानीय तहसँग पनि छलफल भइराखेको छ,’ उनले भने, ‘केही दिनमै यसको व्यवस्थापन गछौं।’ उनले कर्णालीका सबै स्थानीय तहलाई एकीकृत क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइसकेको र भारतबाट आएकाहरु सिधै सम्वन्धीत स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा राखिने बताए।

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App