११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नति गरिँदै

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिको तयारी गरेका छन् । स्थानीयको श्रम र पसिनामा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलश्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३.२७ किलोमिटर सडकका लागि १ नम्बर प्रदेश सरकारले बजेट विनियोजन गरेपछि लकडाउनकै बेला सडक स्तरोन्नतिको तयारी गरिएको हो ।  

पूर्वी तराईबाट उदयपुरको लिम्चुङबुङ गाउँपालिका हुँदै त्रि–धार्मिकस्थल हलेसी आवत–जावत गर्ने सबैभन्दा छोटो पर्यटन मार्गका रूपमा उपयोग गर्न सकिने सम्भावना बोकेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नम्बर १ बाट २५ लाख प्राप्त भएको छ । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने भावनाका साथ बनाइएको सडक स्तरोन्नतिका लागि स्थानीय कमल चाम्लिङको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।  

उपभोक्ता समितिको उपाध्यक्षमा धनहरि राई, सचिवमा भोजराज राई, सह–सचिव दविन राई, कोषाध्यक्षमा अन्जना राई तथा सदस्यहरूमा बलबहादुर राई, विशाल राई, मैना राई र तिम्सिना राई चुनिएका छन् । यस्तै, बाबुराम राईको संयोजकत्वमा केवलनारायण राई र लगनकुमारी राई सदस्य रहेको अनुगमन समिति बनाइएको छ । नगरपालिकाबाट अनुमति प्राप्त भएलगत्तै सडक स्तरोन्नतिको काम थालिने अध्यक्ष चाम्लिङले बताए ।  

‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौं’ भन्ने नारासहित खोटाङ तथा खोटाङ बाहिर तीन सय ७८ दाताको आर्थिक सहयोगमा २०६९ साल चैत ५ गते दुर्छिमको दलश्वरचोकदेखि सुरु गरिएको सुनकोसी किनारको बतासेघाट जोड्ने सडक २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्डमा पर्ने दुर्छिमको दलश्वर चोकबाट छुटेको सो सडक करिब ६१ लाख ९० हजारमा पूरा भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।  

करिब चार सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो । समाजसेबी जनकराज राईले मात्र २२ लाख ५४ हजार २३७ रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि तत्कालिन दुर्छिम गाविसबाट २ लाखको हाराहारीमा मात्र प्राप्त भएको थियो । बाँकी रकम दाताबाट गच्छेअनुसार जुटाइएको हो ।  

हलेसीसँग जोडिएको दुर्छिमबाट दक्षिणतर्फ सुनकोसी हुँदै उदयपुर तथा उत्तरतर्फ मंगलटार, दूधकोसी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सडकले दुर्छिमकै होलेलुङको भग्नावशेष बस्ती र चिहानस्थलसमेत छोएको छ ।  

प्रकाशित: ५ जेष्ठ २०७७ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App