किरियापुत्रीका नाउँमा शंकास्पद गतिविधि बढेको भन्दै पशुपति क्षेत्र विकास कोषले किरिया पुत्री सम्वन्धी सेवा अनिश्चित कालका लागि बन्द गरेको छ। भारतका विभिन्न ठाउँबाट किरिया बस्न भन्दै आएका केही व्यक्तिहरुको गतिविधि शंकास्पद देखिएपछि कोषले आइतबारदेखि पशुपतिस्थित किरियापुत्री सम्वन्धी सेवा बन्द गरेको हो।
विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै थुप्रै भारतीयहरु नेपालमा छिरेको भन्ने सार्वजनिक भैरहेका वेला किरियापुत्री भवनमा पनि भारतीय नागरिकहरुको शंकास्पद गतिविधि बढेपछि किरियापुत्री सेवा बन्द गरिएको हो। यो सँगै अव पशुपतिनाथ क्षेत्रमा रहेको किरिया पुत्री भवनमा किरिया बस्न र भेटघाट गर्ने निहुमा परिसरमा आवतजावत गर्न पाउनेछैनन्।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले किरिया पुत्री भवनमा भारतको दिल्ली लगायतका केही ठाउँबाट आएकाहरुको शंकास्पद गतिविधि देखिएपछि सेवा बन्द गरिएको जानकारी दिए। ‘किरिया पुत्री भवनमा आएका केही व्यक्तिहरुको गतिविधि हामीलाई शंकास्पद लाग्यो, जसमध्ये केही व्यक्तिहरु त भारतको दिल्ली लगायतका ठाउँबाट आएका रहेछन्,’ खतिवडाले नागरिकसँग भने ‘त्यसपछि हामीले शंकास्पद व्यक्ति बसेका कोठाहरु सिल गरि किरिया पुत्री सेवा बन्द गरेका हौं।’ खतिवडाले गतिविधि शंकास्पद देखिएका ति व्यक्तिहरुको विषयमा अनुसन्धान भैरहेको समेत बताए। कार्यकारी निर्देशकले कोरोना संक्रमणको जोखिमका कारण किरिया पुत्री सेवा बन्द गरिएसँगै अव किरिया पुत्री भवन लगायतका आसपासका क्षेत्रलाई सरसफाइ गरिने बताए। ‘किरिया पुत्री भवनका कारण त्यहाँ आउने जाने गतिविधि बढने र यसले झनै संक्रमण फैलन सक्ने जोखिमपछि अव किरिया पुत्री भवन लगायत आसपासका क्षेत्रलाई विशेष सरसफाई गर्दैछौं,’ उनले भने ‘सर्वसाधारणका लागि मन्दिर दर्शन यसअघिनै रोकिएको छ, मन्दिरको नित्य पूजा भने नियमित रुपमा सन्चालन हुन्छ।’
प्रकाशित: ४ जेष्ठ २०७७ १३:३५ आइतबार