६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चोरी शिकारी बढेको गुनासो

खोटाङ– लकडाउनको अवधिमा खोटाङमा वन्यजन्तु चोरी शिकारी बढेको गुनासो आउन थालेको छ । स्थानीय सरकार, प्रशासन र प्रहरीको ध्यान कोरोना भाइरसविरुद्धको लकडाउनको पालनामा केन्द्रित भएको अवस्थामा जिल्लाका विभिन्न वनमा मृग, कालिज, मयुर लगायतका वन्यजन्तुको चोरी शिकारी बढेको सामुदायीक वन उपभोक्ताकर्मीको भनाई छ । सँधै जसो लुकिछिपी वन्यजन्तुको चोरी शिकारी हुने गरेको भए पनि लकडाउनको अवधिमा यसको मात्रा बढेको सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।  

लकडाउनको अवधिमा जन्तेढुंगा गाउँपालिकाको विभिन्न स्थानमा मृग र कालिजको चोरी शिकारी बढेको भन्दै एक स्थानीय युवाले सामाजिक सञ्जालमै लेखेका थिए । यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको रुबुङ, दम्कु र नुनथलाबीचको जंगलमा हुल बाँधिएर चोरी शिकारी हुने गरेको सामुदायीक वनका अभियान्ताको भनाई छ । लकडाउनको अवधिमा वनपैदावार तथा वन्यजन्तुको चोरी शिकारी बढ्ने सम्भावनालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय खोटाङले गत बैसाख १५ गते सूचना जारी गर्दै वनमा प्रवेश नगर्न र अवैध क्रियाकलाप नियन्त्रणका लागि सहयोग गर्न आव्हान गरेको थियो । 

कतिपय जंगलमा शिकारीले दिउँसै पड्काएको बन्दुकको आवाज सुनिने गरेको महासंघका अध्यक्ष राईले बताए । रातका समयमा पनि चोरी शिकारी हुने गरेको छ । रातका समयमा बास बसेको कालिज र मयुरलाई बन्दुक हान्ने गरिएको स्थानीय बताउँछन् । ‘लकडाउनले मान्छे गाउँमा भेला भएका छन् । फुर्सद भएपछि टाइम पास गर्ने भन्दै वनमा जाने गरेको गुनासो आएको छ,’ अध्यक्ष राईले भने, ‘यसतर्फ पनि स्थानीय सरकार र प्रशासनले चासो दिनुपर्छ ।’  

लकडाउनको अवधिमा चोरी शिकारी बाहेक विभिन्न खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम पनि बढेको छ । तर यस विषयमा स्थानीयले मुख खोल्दैनन् । प्रत्यक्षदर्शी समेत चोरी शिकारीका विषयमा प्रहरी वा प्रशासनलाई जानकारी दिन हच्किने गरेका छन् । चोरी शिकारी नियन्त्रणका लागि सामुदायीक वन उपभोक्ता समुहलाई सक्रिया बनाइनुपर्ने सामुदायीक वनका अभियानकर्मी मोहन गुरुङले बताए ।

लकडाउनको अवधिमा वन्यजन्तुको चोरी शिकारी भएको विषयमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण चिमोरियाले बताए । ‘बरु छिमेकी जिल्ला सोलुखुम्बुमा चोरी शिकारी भएको खबर आएको थियो,’ डिएसपी चिमोरियाले भने, ‘तर खोटाङमा चोरी शिकारी भएको भन्ने जानकारी आएको छैन ।’ 

प्रकाशित: १ जेष्ठ २०७७ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App