२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विवाह खर्च कटाएर कोरोना अस्पताललाई सहयोग

विवाह खर्च कटौती गरेर कोरोना अस्पताल र सहिद परिवारलाई आर्थिक सहयोग गरेका चन्द्रबहादुर र मेनुका । तस्बिरः नागरिक

वीरेन्द्रनगर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका राप्ती व्यूरो सदस्य तथा रुकुम पश्चिम जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले विवाहको फजुल खर्च कटौती गरेर कोरोना अस्पताल र सहिदका छोराछोरीलाई आर्थिक सहयोग गरेका छन् । भूमिगत शैलीमा जनवादी विवाह गरेका चन्द्रबहादुरले रुकुम पश्चिममा रहेको कोरोना अस्पताल आठवीसकोट र दाङका सहिद गोकुल रानाका छोराछोरीलाई २५/२५ हजार रूपैयाँ सहयोग गरेका हुन् ।

रुकुम पश्चिम आठवीसकोट नगरपालिका–८ का बुढा त्रिवेणी गाउँपालिका–३ की मेनुका ओलीसँग विवाह बन्धनमा बाँधिएका छन् । विवाहमा हुने फजुल खर्च कटौती गर्दै सीमित खर्चमा विवाह गरेको चन्द्रबहादुरले बताए । ‘विवाहमा फजुल खर्च गरेर त्यसको उपलब्धि हुँदैन,’ उनले भने, ‘त्यसैले अस्पताल र सहिदका छोराछोरीलाई थोरै भए पनि आर्थिक सहयोग गरेका हुँ ।’ यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ । चन्द्रबहादुरले २०७३ पुस ८ गते अख्तियार दुरुपयोग अुनसन्धान अयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दलेका थिए ।  

साथै २०७६ असोज २९ गते नेत्रविक्रम चन्दका दाई चन्द्रबहादुर चन्दसहित दाङबाट पक्राउसमेत परेका थिए । करिब ६ महिनापछि हिरासतमुक्त भएको उनको भनाइ छ । ‘अहिले विश्व कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीमा छ,’ उनले भने, ‘यस्तोबेला फजुल खर्च होइन गरिब, असाहय, विपन्न, सहिद परिवारलगायतलाई राहत तथा सहयोग चाहिएको छ ।’ आर्थिक मितव्यता र सांस्कृतिक रुपान्तरण कोणबाट जनवादी विवाह आवश्यक भएको भन्दै उनले भने, ‘अनावश्यक खर्चभन्दा उपलब्धि हुने गरी खर्च गर्नुपर्छ ।’

 

 

प्रकाशित: १ जेष्ठ २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App