६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

संक्रमण बागलुङमा की बारामा ?

बागलुङको गलकोटका बासिन्दाको कोरोना परीक्षण तयारी

बागलुङबाट बारा पुगेका १४ जना मजदुरमा कोरोना पुष्टि भएको थियो ।

लकडाउनका बेला बागलुङबाट बस चढेर बारा पुगेका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको गलकोट नगरपालिकाका बासिन्दाको स्वाव पनि परीक्षण गर्ने तयारी भएको छ । बागलुङमै संक्रमण फैलिएको हो वा बारा पुगेपछि फैलिएको भन्ने थाहा पाउन परीक्षण गर्न थालिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

बाराको छिपहरमाई गाउँपालिकामा गत मंगलबार भेटिएका १४ जना कोरोना संक्रमित बागलुङको गलकोटबाट गएका मध्येका मजदुर थिए । बागलुङमा आई मजदुरी गरिरहेका उनीहरू वैशाख १३ गते बारा पुगेका थिए । त्यसपछि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदविन्दु शर्माका अनुसार बारामा भेटिएका संक्रमितको बागलुङ कनेक्सन देखिएपछि गलकोटका बासिन्दाको स्वाब परीक्षण गर्न थालिएको हो ।  

‘ती मजदुरले काम गर्ने बागलुङको गलकोट नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बासिन्दाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ,’ शर्माले भने, ‘उनीहरू बागलुङमै संक्रमित भएका थिए वा बारा पुगेपछि भएका हुन भन्ने थाहा पाउनुपर्ने अवस्था छ ।’ बागलुङमै संक्रमित भएको भए अरूमा पनि संक्रमण पैmलिएको हुनसक्ने सम्भावना रहेको उनले बताए । ‘करिब एक सय ५० जना गाउँलेको स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ । एक–दुई दिनमा नमुना संकलन गर्ने हो,’ उनले भने ।  

बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेका अनुसार ती मजदुरले काम गर्ने क्षेत्र पहिचान गरेर कामदारको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने प्रयास भइरहेको छ । ‘ती कामदारले यहाँ घर बनाउने लगायतका मजदुरी काम गर्दथे । विभिन्न वडामा बाँडिएर उनीहरूले काम गरिरहेका थिए,’ गैरेले भने, ‘मजदुर कामका लागि कहाँ पुगेका थिए र कोसँग सम्पर्क भएको थियो भनेर हामीले पहिचान गरिरहेका छौं । विभिन्न वडाका एक सय ५० जनाको नाम संकलन गरेर पठाउने तयारी भएको छ ।’ नाम पहिचान गरेर पठाएपछि बल्ल स्वाब संकलनका लागि टिम आउने उनले बताए ।  

नगर प्रमुख गैरेका अनुसार गलकोट–३ हटिया क्षेत्र, ५ नम्बरको हरिचौर बजार, ६ नम्बरको चौरी, ७ नम्बरको आँगाखेत क्षेत्रका बासिन्दाको परीक्षण गर्ने गरी नाम संकलन गरिएको छ । उनका अनुसार बागलुङमा कार्यरत ७९ जना बाराका मजदुर वैशाख ११ गते बाराका लागि हिँडेका थिए । उनीहरू १३ गते मात्र बारा पुगेका थिए । बागलुङबाट हिँडेका ती मजदुरसँगै रातामाटे, उपल्लाचौर र पर्वतबाट पनि थपिएका थिए । सबै गरी ९० जनाजति मजदुर दुईवटा बस चढेर हिँडेका थिए । तीमध्ये एउटा बसमा गएका मजदुर रौतहटतिर र अर्काे बसका मजदुर बारा गएका थिए । बारा गएकामध्येमा संक्रमण देखिएको उनले बताए ।  

‘हाम्रो अनुमानमा बागलुङमा नभई बारा पुगेपछि उनीहरु संक्रमित भएको अनुमान छ । किनकि बागलुङबाट तीन दिन लगाएर ती मजदुर बारा पुगेका छन्,’ नगर प्रमुख गैरेले भने, ‘तिनै मध्येका मजदुर रौतहट पनि त गएका हुन् । तर, उनीहरूमा संक्रमण देखिएन । तर बारा गएका मजदुरमा संक्रमण देखिएकाले बागलुङमा नभई उनीहरू गृहजिल्लामै संक्रमित भएको अनुमान छ ।’

बारा पुगेर क्वारेन्टिनमा बसेका मजदुरहरुले अव्यवस्थित र भीडभाडमा बस्नुपर्दा गृहजिल्लामै संक्रमित भएको भनेर बागलुङका बासिन्दालाई बताएका थिए । ‘साँघुरो, अस्तव्यस्त र फोहोर क्वारेन्टाइनमा बस्न बाध्य भयौं । यही (बारा)मै हामी संक्रमित भयौं भनेर मजदुरले फोन गरेका थिए,’ नगर प्रमुख गैरेले भने, ‘रौतहत जानेलाई संक्रमण नदेखिनु तर, बारामा पुगेकालाई देखिँदा आशंका गर्ने ठाउँ छ ।’ तर, गाउँबाट बाहिरिएका मजदुरमा संक्रमण देखिएपछि नगरपालिकालाई सिल गरी आउजाउ कडाइ गरिएको नगर प्रमुख गैरेले बताए ।  

प्रकाशित: १ जेष्ठ २०७७ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App