२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

‘गोरखा सिल’ आजदेखि वित्तीय संस्था पनि नखुल्ने

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै गोरखा जिल्ला ‘सिल’ गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले जेठ ५ गतेसम्म वित्तीय संघसंस्था (बैंक, सहकारी) बिमा कम्पनी चल्न नदिने निर्णय गरेको हो ।  

संघीय सरकारले बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न दिने निर्णय गर्दा बैंकमा अत्यधिक भीडभाड बढेपछि सरोकारवालाहरूको बैठकले तत्काल गोरखामा वित्तीय संस्था बन्द गरेर सुरक्षित हुनुपर्ने निष्कर्ष निकालेको हो । ‘बिहीबारदेखि बैंकहरू पनि बन्द हुनेछन्, ई–बैंकिङबाट सेवा लिन भने सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ।  

देशमा केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बाहिरी जिल्लाबाट खाद्यान्न ढुवानीमा पनि रोक लगाइएको छ । अन्य जिल्लाबाट खाद्यान्न तरकारी बोकेर भित्रिएका सवारी साधनप्रति जिल्लाबासीको चासो र त्रास अत्यधिक भएकाले सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो । यसअघि जारी गरेको सवारी पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।  

हरेक नगर तथा गाउँपालिकाले वडास्तरमा उपलब्ध कामदारको सूची तयार गर्ने, उक्त सूचीअनुसार क्षमता भएका कामदारको रेकर्ड घरेलु तथा साना उद्योग कार्यालयले राख्ने र व्यवसायीलाई उपलब्ध गराउने निर्णय बैठकमा भएको छ । विकास निर्माणको कामलाई निरन्तरता दिन  र कामदार अभाव न्यूनीकरण गर्न उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले बताए । सम्भावित खाद्य संकटलाई न्यूनीकरण गर्न पालिकालाई बाँझो जग्गा उपयोग गर्ने नीति बनाएर प्रयोग गर्न बैठकले अनुरोध गरेको छ । खेतीयोग्य जमिनलाई बाँझो राख्नेलाई आर्थिक दण्ड दिनेगरी कानुन निर्माण गर्न गण्डकी प्रदेशलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

प्रकाशित: १ जेष्ठ २०७७ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App