नेपाल–भारत सीमा बन्द गरिए पनि बर्दियामा नेपाल–भारत सीमानाकामा लुकिछिपी नेपाल प्रवेशक्रम रोकिएको छैन । बर्दियाको राजापुर नगरपालिकामा ११ वर्षीया बालिकालाई कोरोना पोजेटिभ पुष्टि भएकै दिन मानिसहरु भारतबाट लुकिछिपी बर्दिया प्रवेश गरेका छन् ।
भारतको मन्सुरीमा मजदूरी गर्ने राजापुर ४ दलैका घनश्याम चौधरी र उहाँकी पत्नी सरस्वती राजापुर नगरपालिकाको चौर्गुजी नाका हुँदै नेपाल प्रवेश गरेको स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेपछि दुवैलाई स्थानीय अमर शहीद बहुमखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । यसैगरी सोमबार राति नै राजापुर घर भएका बजारका एक व्यापारी राति कर्णाली तरेर राजापुर बजारमा प्रवेश गरेकाले उनलाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ ।
नेपालसँग जोडिएको ८३ किमी लामो सीमामा एक हजारभन्दा बढी सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । सीमामा कडाइ भएकाले भारतबाट मानिस प्रवेश गर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । रासस
प्रकाशित: ३० वैशाख २०७७ ०७:२८ मंगलबार