२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लुकिछिपी नेपाल आएका २६ नेपालीलाई पुनः भारततिरै फर्काइयो

रौतहट -  भारतको पन्जाब प्रान्तको जालन्धरबाट गए राति नेपाल छिरेका २६ युवकलाई स्थानीय प्रशासनले भारततिरै फर्काएको छ। जालन्धरबाट तीन दिन लगाएर मोटरसाइकलमा आएका युवाहरुलाई स्थानीय प्रशासनले फेरि भारततिर लखेटेको हो। भारततिर लखेटिएका सबै युवक रौतहटको ईशनाथ नगरपालिकाका हुन्।

शनिवार अबेर राति ईशनाथ माध्यमिक विद्यालयको एउटा कोठामा युवाहरु आइपुगेका थिए। जालन्धरमा हातमा मेहदी लगाउने काम गर्दै आएका २६ युवाहरु गए राति आएर गाउँकै विद्यालयमा बसिरहेको थाहा पाएर आइतबार बिहान युवाका अभिभावक तथा स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। अवैध रुपमा लुकीछिपी युवकहरु नेपाल छिरेर विद्यालयमा बसेको सुनेपछि सशस्त्र प्रहरीले युवाहरुलाई लखेटेर नेपाल–भारत सीमाको मनमोहन स्मृतिद्वारसम्म पु¥याएको थियो।

गए राति सीमा क्षेत्रमा आइपुगेका युवाहरुले भारतस्थित आफन्तकहाँ खाना खाएर मोटरसाइकल त्यहीँ छाडेका थिए। पैदलै राति नेपाल भारत सीमा पार गरेका युवाहरुमा श्यामदेव राउत, महेन्द्र पटेल, वीरेन्द्र पटेल, पारसकुमार पटेल, सरोज पटेल, शिवजी पटेल, अवध साह, नितेशकुमार पटेल, विद्यानन्द साह कानु, राम विकास प्रसाद, मुकेश पटेल  नवल साह, पपुकुमार पटेल, विकी पटेल, रञ्जय पटेल, रोशन पटेल, अजय पटेललगायत छन्।

भारतबाट आएका युवाहरुलाई नेपाल र भारत दुवैतिरको प्रशासनको समन्वयमा भारततिरै फर्काइएको छ। निकै दुःख गरेर आफ्नो घरको क्वारेन्टाइनमा बस्न आइपुगेको बताउने युवाहरुले कुनै पनि हालतमा भारततिर नजाने र जे जस्तो अवस्थामा भए पनि आफ्नै गाउँको क्वारेन्टाइनमा बस्ने आग्रह गरेका थिए।
 दुवैतिरको प्रशासनको समन्वयमा भारततिरको क्वारेन्टाइनमा जाने सहमति भएपछि कतिपय युवाहरुले आँसु चुहाएर रोएको पनि देखिएको थियो।

ईशनाथ नपाका मेयर सन्तोष मेहताले युवाहरुलाई आफ्नै गाउँको क्वारेन्टाइनमा व्यवस्थान गर्नुपर्ने बताएका थिए र युवाहरुलाई खाजा पनि खुवाएका थिए तर दुवैतिरको प्रशासनको सहमति भएपछि आफूले केही गर्न नसकेको बताएका छन्।

प्रकाशित: २८ वैशाख २०७७ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App