४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

यातायात मजदुरद्वारा राहतको माग

सर्लाही - जिल्लाका यातायात मजदुरले सरकारसँग राहतको  व्यवस्था गर्न माग गरेका छन्। कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा खान बस्नको समस्या सिर्जना भएको भन्दै ती क्षेत्रका मजदुरले सरकारसँग राहतको माग गरेका हुन्। सवारी साधन लिएर विभिन्न ठाउँमा पुगेका चालक र सहचालक लकडाउनका कारण जहाँको त्यही रोकिनुपर्दा अलपत्रमा परेको  बस व्यवसायी सङ्घका अध्यक्ष शिवशङ्कर यादवले जानकारी दिए।

लकडाउनको अवधि बढ्दै जाँदा उनीहरूको अवस्था नाजुक बन्दै गएको भन्दै सरकारले राहतको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ। जिल्ला सदरमुकाम मलङ्गवाबाहेक कौडेना, गोडैता, बलरा, बरहथवा, बयलबास, हरिपूर्वा, सङ्ग्रामपुर, पर्सालगायतका ग्रामीण क्षेत्रका बसपार्क क्षेत्रमा पुगेका यातायात मजदुर वढी  समस्यामा परेका सङ्घले जनाएको छ। मलङ्गवाबाट दैनिक ६५ वटा बस देशका विभिन्न शहर तथा गाउँका लागि छुट्ने गरेका थिए। अहिलेको कोरोना सङ्कटबाट साहुको बस, ट्रक, अटो  चलाउने चालक तथा सहचालक बेरोजगार बनेका छन्। 

दैनिक ज्यालादारी काम गर्ने बढी  मर्कामा परेका छन्। यातायात मजदुरका साथै उनीहरूमा आश्रित परिवारलाई सरकारले राहतको प्याकेज ल्याउन सङ्घका अध्यक्ष यादवले माग गरे। उनका अनुसार बैंकबाट ऋण लिएर निकालेको सवारी साधनको किस्ता तिर्न नसकेर व्यवसायी समस्यामा परेका छन्। सङ्घका अनुसार ९० प्रतिशत व्यवसायीले बैंकबाट कर्जा लिएर किस्तामा गाडी निकालेका छन्। एउटा गाडीमा ८० प्रतिशतसम्म बैंक  तथा सहकारीको लगानी हुन्छ। काम गर्न नपाएपछि छाक टार्न समस्या भइरहेको समयमा बैंकले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीको गुनासो छ। रासस

प्रकाशित: २८ वैशाख २०७७ १०:३१ आइतबार

मजदुर राहत यातायात