२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दियो राहतको सट्टा रोजगारी

गाउँपालिकाले राहत बापत रोजगारी दिएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुका लकडाउनका कारण रोजगारी गुमाएका परिवारका सदस्यहरु गोरेटोबाटो निर्माणको काम गर्दै । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- लकडाउनका कारण रोजगारी गुमेर छाक टार्न समस्या भएका परिवारलाई बिभिन्न स्थानीय तहले राहत वितरण गरिरहेका बेला ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले भने राहतको सट्टा रोजगारी दिएको छ ।

रोजगारविहीन भई राहत पाउन आबेदन दिएका गाउँपालिका भरीका ७ सय ३३ जनालाई गाउँपालिकाले रोजगारी दिएर त्यसबापत दैनिक श्रममूल्य वितरण गरिरहेको हो । ७ वटा वडा रहेको सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडामा रोजगार श्रममूल्य बापत प्रति वडा ३ लाख रुपैयाँ बिनियोजन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार कूल २१ लाख रुपैयाँको बजेटबाट गााउँपालिका भित्र ६ वटा योजना छानिएका छन् । लकडाउनका कारण रोजगारी गुमेका सदस्यले तिनै योजनामा श्रम खर्चन्छन् र श्रममूल्य लिने गर्छन् ।

लकडाउनका कारण रोजगारविहीन भएका परिवारले रोजगारी पनि पाउने, गाउँपालिका भित्रका पूर्वाधारका कार्यहरु पनि सञ्चालन हुने र रोजगारी गुमेको नाममा अनाधिकृत सदस्यबाट राहतको दुरुपयोग हुने प्रकृया रोक्न गाउँपालिकाले यस्तो नीति अवलम्बन गरेको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताए । प्रभावित परिवारले श्रम खर्चिएबापत पाउने श्रममूल्य वितरणले उनीहरुको पौरख र पसिनाको मेहनेत देखिने भएकोले गाउँपालिकाले राहतको सट्टा रोजगारी दिने निश्कर्षमा पुगेको गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए ।

‘विकास निर्माणका कार्यहरु पनि सञ्चालन हुने र श्रमका आधारमा मूल्य वितरण हुँदा श्रमिकलाई पनि आत्मनिर्भरको महशुस हुने देखेर हामीले यस्तो निर्णय गरेका हौं’उनले भने । प्रमुख प्रशासकीय अधिकृत लिङ्देनका अनुसार कालिखोला र साब्लाखुबाट समान ११०–११० जना, सादेवाबाट २३० जना, आङ्खोपबाट ६६ जना, लिम्बूदिनबाट ७० जना, मेहेलेबाट ६० जना र  सुरुम्खिमबाट ८७ जनाले रोजगारी गुमेको भन्दै राहतका लागि आबेदन दिएका थिए । सोहि आधारमा उनीहरुलाई नजिक र पायक पर्ने स्थानमा भौतिक दुरी समेत कायम हुने गरी रोजगारीमा लगाइएको लिङ्देनले बताए ।

गाउँपालिकाका बिभिन्न वडामा जाने गोरेटो र घोरेटो निर्माणका लागि १२ लाख ४५ हजार रुपैयाँ बजेट छ । त्यहाँ ४६९ जना श्रमिक कार्यरत छन् । यस्तै कूलो मर्मतका लागि बिनियोजन भएको ७५ हजार रुपैयाँ ६३ जना, १ लाख ५० हजार रुपैयाँ बजेट भएको आर्यघाट जाने बाटो मर्मतका लागि ५५ जना, ३० हजार बजेट रहेको सडकको पानी कटाउने तथा ढुङ्गा फुटाउने कार्यका लागि २० जना, ३ लाख बजेट रहेको खेलमैदान निर्माण तथा बिस्तार कार्यका लागि ६६ जना र ३ लाख रुपैयाँ नै बजेट रहेको सडकको नाली निर्माण, ग्राभेल र सोलिङ कार्यका लागि ६० जना श्रमिक कार्यरत रहेका गाउँपालिकाले जनाएको छ ।

रोकिएका विकास निर्माणका कार्यपनि सञ्चालन हुने र रोजगारी गुमेका परिवारले राहत बापत श्रममूल्य पनि पाउने भएकोले गाउँपालिकाको यस्तो योजना प्रभावकारी पाईएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । यसले राहतमा आश्रित परिवारको परनिर्भरता हटाएको भन्दै मादेनले सिदिङ्वा गाउँपालिकाको अभियान अन्यत्र पनि बिस्तार हुन आवश्यक रहेकोमा जोड दिए ।

 

प्रकाशित: २६ वैशाख २०७७ ०९:२८ शुक्रबार

लकडाउन रोजगारी राहत