१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दीर्घरोगीलाई घरगाउँमै औषधि

दुलेगौंडा (तनहुँ) - लकडाउन सुरु भएपछि स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सेवा बन्द छन् । कोरोना संक्रमणको त्रासले रोगले नच्याप्दासम्म दबाएर बस्नुपर्ने बाध्यता छ, सर्वसाधरणमा । नियमित औषधि सेवन गर्ने दीर्घरोगी लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा छन् । औषधि खरिद गर्न सकस छ ।

तर त्यस्ता बिरामीलाई लक्षित गर्दै तनहुँका केही निजी र सरकारी स्वास्थ्य संस्थाले घरगाउँमै पुगेर औषधि उपचार सेवा दिइरहेका छन् । समाजिक संघसंस्थाले पनि दीर्घरोगीलाई औषधि सहयोग गरेका छन् । 

भिमाद रत्नचोकस्थित थापा मेडिकल हलले बिरामीले अर्डर गरेका औषधि घरमै पु-याइदिने व्यवस्था मिलाएको छ । नियमित औषधि सेवन गर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा दिएको सञ्चालक सूर्य थापाले बताए । उनी भन्छन््, ‘फोनबाट आवश्यक परेको औषधि अर्डर आउँछ । यहाँ नपाइने औषधि पनि अन्तबाट मगाएर लगिदिने गरेका छौं ।’

भिमादमा उपलब्ध नभएका औषधि पोखरा, काठमाडौं र भरतपुरबाट मगाउने उनले जानकारी दिए । स्वास्थ्य संस्थाको पहुँचमा नहुँदा दीर्घरोगीले जोखिम बहन गर्नुुपर्ने भएकाले त्यस्ता बिरामीलाई ध्यानमा राख्दै सेवा दिएको थापा बताउँछन् । उनले भिमाद नगरपालिकासँगै जिल्लाका म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा बिरामीको मागअनुसारको औषधि लिएर पुग्ने गरेको बताए । उनले छिमेकी जिल्ला स्याङजाको हरिनास गाउँपालिकामा पनि सेवा दिने गर्छन् ।

दुलेगौंडाको तनहुँ सेवा हस्पिटलले पनि अर्डर भएका औषधि घरमै पु¥याइरहेको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत विष्णु अर्याल सम्भव भएसम्म घरदैलोमा औषधि पु¥याएको बताउँछन् । अस्पतालले औषधि पु¥याउन एक जना कर्मचारी खटाएको छ । जिल्लाको थर्पु, साँखे, राईपुर, दुलेगौंडा, खैरेनीटार, ढोरफिर्दी, थप्रेकसम्म औषधि लिएर जानेको गरेको अस्पतालले जानएको छ । 

यहाँको शुक्लागण्डकी नगरपालिका–८ वडाले पनि यस्तै सुविधा दिएको छ । दीर्घरोगी र नियमित सेवन गरिने औषधि सकिन चार दिनअगावै वडा कार्यालयमा औषधिको विवरण र रकमसहित सम्पर्क गर्न सञ्चारमाध्यममा सूचना प्रसारण गर्दै आह्वान गरिएको छ । संकटको बेलामा वडामै औषधिको व्यवस्था गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । 

शुक्लागण्डकी जेसिजले पनि दीर्घरोगीलाई औषधि सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित सुकुम्बासी बस्तीका ४० जना विपन्न वर्गका दीर्घरोगीलाई एक महिना पुग्ने औषधि सहयोग गरेको अध्यक्ष मदन श्रेष्ठले बताए । ‘लकडाउनले गर्दा विपन्न वर्गका दीर्घरोगीले नियमित सेवन गर्नुपर्ने औषधि पाएका छैनन् । नियमित औषधि सेवन नगर्दा ज्यानै जोखिममा पर्न सक्छ । खाद्यान्नसँगै औषधि पनि आवश्यक हुन्छ । खाद्यान्न त सबैले सहयोग गरेका छन् । हामीले चाहिँ औषधि आवश्यक ठानेर सहयोग गरेका हौं,’ उनले भने । 

कोरोना भाइरस संक्रमण रोक्न महिना दिनदेखि जारी लकडाउनले औषधि खरिद गर्न समस्यामा परेका एचआइभी संक्रमितलाई कम्युनिटी सपोर्ट ग्रुप तनहुँले घरघरमै औषधि वितरण गरेको छ । संस्थाले एचआइभी संक्रमितको अधिकारका लागि काम गर्दै आइरहेको छ । ‘संक्रमितले नियमित औषधि सेवन गर्नुपर्छ । त्यसैले लकडाउनको बेला औषधि सकिएका संक्रमितको सहजताका लागि घरमै पुगेर औषधि वितरण गरिएको छ,’ गु्रपका अध्यक्ष श्रीराम कँडेलले बताए । संस्थाका अनुसार जिल्लामा तीन सय १३ जना एचआइभी संक्रमित छन् । दुई सय जनाले दुई महिनालाई पुग्ने औषधि लकडाउनअगावै लिएका थिए । बाँकी एक सय १३ जनालाई औषधि घरमै उपलब्ध गराएको कँडेलले बताए । ‘लकडाउन लम्बिएपछि पहिलो चरणमा वितरण गरेको औषधिले पुगेन । दोस्रो चरणमा पुनः औषधि उपलब्ध गराएका छौं,’ उनले भने । 

यसैबीच, मनोसामाजिक अपांगता भएका व्यक्तिहरूलाई कोसिस नेपालले तनहुँका दुई स्थानीय तहमा निशुल्क औषधि उपलब्ध गराएको छ । शुक्लागण्डकी नगरपालिकामा १८ जना र बन्दीपुर गाउँपालिकामा १२ जनालाई दुई महिना पुग्नेगरी स्वास्थ्य शाखालाई औषधि उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०७७ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App