८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

छुटेका लकडाउन पीडितलाई राहत

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो चरणमा राहत लिन छुटेका लकडाउन पीडितलाई राहत बाँड्न थालेको छ । पहिलो चरणमा ६ सय परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले छुट भएका वा तोकिएको मितिमा राहत लिन आउन नभ्याएका लकडाउन पीडितलाई वडा–वडामा पुगेर राहत दिन थालेको हो । मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ५६ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ४४ परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा हातमुख जोर्नै धौ–धौको अवस्थामा पुगेका विपन्न परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, आधा लिटर तेल, एक केजी नुन र तरकारी प्रदान गरेको हो । यसअघि राहत दिन छुट भएका ७ वटै वडाका लकडाउन पीडित परिवारलाई दोश्रो चरणमा राहत उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ बर्गको अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण सुरु गरेको हो ।

गाउँपालिकाले लकडाउनको मारमा परेका किसानको तरकारी किनेर राहतसँगै वितरण गरिरहेको छ । बजार अभावमा खेर जाने अवस्थामा पुगेको तरकारी गाउँपालिकाले खरिद गरिदिँदा किसानले राहतको महसुस गरेका छन् ।

प्रकाशित: २४ वैशाख २०७७ ०७:३१ बुधबार

लकडाउन पीडित राहत