२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एकल महिलालाई दिइसकेको राहत खोसियो

डोटी, - सायल गाउँपालिका–२ ओखट्टेकी ३० वर्षीया एकल महिला कृष्णादेवी ओझा राहत पाउँदा औधी खुसी थिइन् । सडक मर्मत समूह (आरएमजी) मा मजदुरी गरेर नौ वर्षीय छोरा र सासूको स्याहार उनलाई लकडाउनले धेरै सास्ती थपेको थियो । राहत पाउँदा अभावको घाउमा मलमको महसुस भएको थियो उनलाई । तर पाइसकिएको राहत खोसिएपछि उनी निराश छिन् ।

‘वडा सदस्य (मोहन ओली) ले चार पोका तेल, दुई पोका नुन, दुइटा साबुन र दुई किलो चिनी ल्याइदिनुभएको थियो,’ उनले भनिन्, ‘पछि ल्याइदिन्छु भनेको चामल र दाल आइपुग्नुअगाडि नै वडा कार्यालयबाट फोन आयो– त्यो राहत तपाईंलाई होइन, कलुदेवी ओझालाई दिनू ।’ फोन कसले गरेको भन्ने उनलाई केही जानकारी छैन । तर कलुदेवी छिमेकी भएकाले नाइँनास्ती गर्न सकिनन् । उनले त्यो राहत छिमेकी कलुदेवीकहाँ पु-याइदिइन् । कलुदेवीको आर्थिक अवस्था कृष्णाको भन्दा राम्रो छ । उनका पति र छोरा भारतमा कमाउँछन् ।

सोही ठाउँकी अर्की एकल महिला ३१ वर्षीया हरिनादेवी ओझाले पनि कृष्णाले जस्तै राहत फिर्ता गर्नुप-यो । उनी पनि सडकमै मजदुरी गरेर जीविका चलाउँछिन् । ‘वडा सदस्य (ओली) आएर दिएर गए, वडा कार्यालयबाट अर्कोलाई दिनू भन्ने निर्देशन आयो,’ उनले भनिन्, ‘नदिऊँ केही गर्लान् भन्ने डर । आफ्नो हक नभएको चिज के गर्नु ?’ उनले पनि त्यो राहत जसलाई दिनू भनिएको थियो, उनैलाई दिइन् । ‘कुनै दिन खाएर कुनै दिन भोकै बसेर दुई सन्तान पालेकै छु,’ उनले दुखेसो पोखिन्, ‘अर्काले दिएको कति दिन चल्ला भनेर दिएँ ।’ 

वडा सदस्य ओलीले आफ्नो र वडाध्यक्ष हर्कबहादुर सिंहले दिएको नाम बाझिँदा यसो भएको बताए । ‘उहाँले अरू दुईजनाको नाम दिनुभएको रहेछ । त्यसैले यस्तो भयो,’ उनले भने, ‘तैपनि मैले त फिर्ता नदिनू मिलाऔंला भनेको हुँ । खै के भयो ?’ 

वडाध्यक्ष भीम बोहराले राहत वितरण समितिका सदस्यहरूबीच समन्वय नमिलेर त्यसो भएको बताए । ‘एकजनाले उहाँहरूको र अर्कोले अर्कैको नाम दिएपछि यस्तो भएको हो,’ उनले भने, ‘उहाँहरूलगायत अरू पाँचजनालाई पनि राहत दिने तयारी छ ।’ गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले दुवै एकल महिला राहत पाउने वर्गमै नपर्ने प्रतिक्रिया दिए । ‘दुवैजना सडकमा काम गरेर मासिक ६ हजार बुझ्छन्,’ उनले भने, ‘उनीहरू खेतीपाती भएका महिला हुन् ।’ 

राजनीतिक पूर्वाग्रहले राहत फिर्ता लिएको प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुवै तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुन् । ‘राजनीतिक पूर्वाग्रहले नै उहाँहरूबाट राहत फिर्ता लिइएको हो,’ कांग्रेस नेता धर्मराज जोशीले भने, ‘उहाँहरूबाट त फिर्ता लिइयो । बाँकीलाई छानीछानी आफूलाई भोट नदिनेलाई राहतमा नै समावेश गरिएको छैन ।’

अध्यक्ष डुम्रेलले सबै दलको संयन्त्र बनाएर नै राहत वितरण गरिएको दाबी गरे । ‘सबै ठाउँमा नेपाली कांग्रेसका मानिस राखेका छौं । स्थानीय बुद्धिजीवी पनि राखेका छौं,’ उनले भने, ‘आवश्यकताका आधारमा नै राहत वितरण भएको छ ।’ उनका अनुसार गाउँपालिकाभरि हालसम्म एक हजार पाँच सयभन्दा बढीलाई राहत वितरण गरिएको छ । 

प्रकाशित: २३ वैशाख २०७७ ०३:४७ मंगलबार

एकल_महिला राहत