७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङका अग्नि पीडितलाई सहयोग जुट्ने क्रम जारी

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा शुक्रबार राति भएको आगलागीका पीडित परिवारलाई सहयोग जुट्ने क्रम सुरु भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले आगलागीबाट घर पूर्ण क्षति भएका ८ घरधनीलाई जनही ५० हजार र आशिंक क्षति पुगेको १ घरका धनीलाई २५ हजार रुपैंयाका दरले राहत उपलब्ध गराउने भएको छ ।

यस्तै आगलागीमा परी डेराभाडामा बस्ने १६ परिवारलाई जनही १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । यस्तै ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले पीडित सबै परिवारलाई जनही ३ हजार रुपैयाँले र कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई जनही ३ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

सावादिन फुङ्लिङ परिवार समाजले समाजका २ सदस्य क्रमशःखेम केसी र खड्ग थापालाई जनही २० हजार ३०० रुपैयाँका दरले राहत दिईएको समाजका दिलकुमार लिम्बूले जानकारी दिए । साई समाज बिराटनगरमार्फत चुल्हो नै डढेर खाना खानै समस्या परेका १७ परिवारलाई १–१ थान ग्याँस सिलिण्डर र ग्याँस चुल्हो प्रदान भएको छ । यसैबीच राहत सहयोग गर्नेहरुले अब फुङ्लिङ नगरपालिकाले निर्माण गरेको आगलागी पीडित राहत कोषमार्फत मात्र सहयोग गर्न पाउने भएका छन् ।

जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले राहत सहयोग प्रणालीलाई एकद्धार नीति लागू गर्ने गरी फुङ्लिङ नगरपालिका राहत संकलन तथा सहयोगको प्रकृया अघि बढाउने निर्णय गरेको समेत प्रजिअ निरौलाले जानकारी दिए । उनका अनुसार अब नगरपालिकाको अनुमति बिना कसैले पनि आफुखुसी सहयोग संकलन तथा वितरण गर्न पाईने छैन । सहयोग गर्न चाहनेले नगरपालिकाको आगलागी राहत कोषमार्फत व्यवस्थापन हुने गरी राहत संकलन तथा वितरणको प्रकृया अघि बढाउन सकिने छ ।

प्रकाशित: २२ वैशाख २०७७ ०९:२७ सोमबार

अग्नि_पीडित सहयोग आगलागी