९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउन पीडित ९४ परिवारलाई राहत

ललितपुरका लकडाउन पीडित परिवारलाई राहत वितरण गरिदै । तस्बिर सौजन्य : इनुमा राई

खोटाङ– लकडाउनको मारमा परेका ललितपुरका ९४ परिवारलाई राहत प्रदान गरिएको छ । लामो समयदेखि जारी लकडाउनका कारण मारमा परेका विभिन्न जिल्ला घर भइ हाल ललितपुरमा बसिरहेका विपन्न वर्ग तथा मजदुर परिवारलाई चामल, दाल, नुन र चाउचाउ प्रदान गरिएको हो ।

लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा हातमुख जोर्नै सकस भइरहेको अवस्थामा पुगेका परिवारलाई पहिचान गरेर खोटाङ बुईपा घर भइ हाल ललितपुर नखिपोट निवासी युवा सुनिल राई र सिन्धुपाल्चोक घर भइ हाल ललितपुर सामपाङचोक बस्दैआएका युवा समीर तामाङको संयोजकत्वमा आर्थिक संकलन गरेर विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । लकडाउन पीडितको नाममा संकलन गरिएको १ लाख ७६ हजारमा बुधबार प्रतिपरिवार २० देखि २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल, एक प्याकेट नुन, चाउचाउ लगायतका खाद्यान्न प्रदान गरिएको अभियान्ता इनुमा राईले जानकारी दिएकी छन् ।

संकलित राहत ललितपुर उपमहानगरपालिका–१४ का वडाध्यक्ष रामबाबु महत, सामपाङचोक प्रहरी बिटसँगको सहकार्यमा ढोलाहिटी, नखिपोट र सामपाङचोकका स्थानीय, अग्रज तथा युवाको पहलमा राहत संकलन गरिएको हो । लकडाउनको मारमा परेका विपन्न परिवारलाई मानवीय हिसावले सहयोग गर्नुपर्ने अवस्था भएकाले होस्टेमाहैंसे गर्ने प्रयास स्वरुप राहत जुटाएर वितरण गरिएको राईले बताईन् ।

राहत वितरण गर्ने र लिने व्यक्तिलाई अनिवार्य हात धोएर, स्यानिटाइजर प्रयोग गरेर तथा मास्क लगाएर दुई मिटरको दुरी कायम गरेर राहत वितरणको व्यवस्था मिलाइएको थियो । ‘मजदुरी गर्ने परिवारको अबस्था कस्तो छ भनेर विभिन्न ठाउँका मजदुर वस्ती गएर बुझेको थिएँ,’ राईले भनिन्, ‘रोगले भन्दा भोकले मरिने डर भयो । बरु एक/दुई बोरा चामल किनेर सापट दिनु भए धन्य हुने थियो, लकडाउन खुलेपछि पैसा तिर्ने थियौँ भन्ने परिवार धेरै भेट्टाएँ ।’

रोगले भन्दा भोकले बढि सताइएका परिवारका लागि राहतको लागि जितेन्द्र राई, गणेश राई, बिमला राई, ऋखिस्वर राई, राम राई, गोपाल राई, जीवन राई, केदार राई लगायत नखिपोट, साम्पाङचोक र ढोलाहिटी बसिरहेका खोटाङ र भोजपुरका दाताले सहयोग गरेका छन् ।

 

प्रकाशित: १७ वैशाख २०७७ १६:२७ बुधबार

लकडाउन_पीडित राहत