७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विपन्न र असहायलाई निःशुल्क खाना खुवाउँदै

लहान - कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ।

विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय परिवारका व्यक्तिलाई समितिले आफ्नै भवनमा निःशुल्क खाना खुवाउन शुरु गरेको हो। लकडाउन अवधिभर प्रत्येक दिन बिहान ११ देखि २ बजेसम्म निःशुल्क खाना खुवाइने समितिका अध्यक्ष शत्रुधन चौधरीले बताए। यसैबीच सुखीपुर नगरपालिका–१ का मिथुन यादवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ६० थान सुरक्षा सामग्री पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) उपलब्ध गराएका छन्।

पिपिइ अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गर्न समस्या भइरहेकाले व्यक्तिगत आर्थिक सहयोगमा ६० थान पिपिइ उपलब्ध गराएको नेपाली काँग्रेसका नेतासमेत रहेकाका यादवले बताए। सुखीपुर नगरपालिका–८ स्थित स्वास्थ्यचौकी सुखीपुरलाई पिपिइ १० थान, वडा नं १ स्थित स्वास्थ्यचौकी मोहनपुर कमलपुरलाई पिपिइ १०, मास्क आठ र क्याप आठ थान, इलाका प्रहरी कार्यालय सुखीपुरलाई पिपिइ दुई र मास्क पाँच, सशस्त्र बेसक्याम्प सुखीपुरलाई पिपिइ दुई, मास्क पाँच र इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई पिपिइ पाँच, मास्क १० र क्याप पाँच थान उपलब्ध गराएको उनले जानकारी दिए। रासस

प्रकाशित: १७ वैशाख २०७७ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App