सर्लाही- सर्लाहीको दक्षिण पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका–८, बसन्तपुर टोलामा बच्चाहरुबीच झगडा भएको र सोही निउमा बच्चाका अभिभावकबीच विवाद बढ्दै गएर सोमबार राति कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीय खोध्दी अन्सारी र सैदुल खातुनका परिवारबीच विवाद बढ्दै गएपछि अन्सारीका परिवारको कुटाईबाट ४३ वर्षीया सैदुल खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
कुटपिटबाट गम्भीर घाइते खातुनलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल लगिएपनि त्यहाँबाट रेफर भएर थप उपचारका लागि जनकपुरस्थित जानकी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रनाउ कुँवरले कुटपिटमा संलग्न अन्सारी परिवारका पाँच जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए ।
प्रकाशित: १६ वैशाख २०७७ १५:२१ मंगलबार