लहान - लकडाउनको मारमा परेका आफ्ना नागरिकलाई सिरहाको सुखीपुर नगरपालिकाले राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण गर्न शुरु गरेको छ। सुखीपुर नगरपालिकाले वडा नं ९ बाट ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरी राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ भने वडा नं ८ बाट सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण शुरु गरेको हो। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध जुधिरहेका विपन्न परिवारलाई मापदण्ड बनाएर खाद्यान्न वितरण शुरु गरेको नगरप्रमुख रामअवतार यादवले जानकारी दिए।
सुखीपुर नगरपालिका–९ का दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका ३०० विपन्न परिवारलाई राहतस्वरुप प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाललगायत सामग्री वितरण गर्न शुरु गरिएको नगप्रमुख यादवले बताए। नगरपालिकाकाले सबै वडामा रु पाँच/पाँच लाखका दरले १० वडामा रु ५० लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख यादवको भनाइ छ। यस्तै सो नगरपालिकाले लकडाउनको पालन गर्दै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण शुरु गरेको छ। लकडाउनका कारण कार्यालयसम्म आउने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको नगरप्रमुख यादवले बताए।
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित ज्येष्ठ नागरिक र बालपोषणभत्ता घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागेको छ। कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको मारमा परेका विपन्न, मजदुर परिवारलाई सिरहाको बरियारपट्टी गाउँपालिकाले पनि राहत वितरण गर्न शुरु गरेको छ। वडावडाबाट आएको विपन्न, मजदुर परिवारको विवरणको आधारमा राहत वितरण थालिएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए।
प्रतिपरिवार चामल २५ किलो, दाल तीन किलो, नुन दुई प्याकेट, चिनी दुई किलो, खानेतेल दुई लिटर, साबुन राहत वितरण शुरु गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अशोककुमार सिंहले बताए। रासस
प्रकाशित: १६ वैशाख २०७७ ०६:४९ मंगलबार