६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीन दिनमा राजधानीबाट ४ सय २१ जना धरान भित्रिए

राजधानीबाट भित्रिएका मानिसहरुको तीनकुनेमा स्वास्थ्य जाँच गर्दै वीपी प्रतिष्ठानका चिकित्सकहरु । तस्बिर : रोहित राई

धरान- लकडाउनले राजधानीमा रोकिएकाहरुलाई धरान उपमहानगरपालिकाको पहलमा ल्याइएको छ । उपमहानगरले एक समिति गठन गरेर काठमाडौंबाट धरानेहरुलाई गृहनगर ल्याएको हो । तीन दिनमा कुल ४ सय २१ जना मानिसहरु धरान आएको उपमहानगरपालिकाले जनाएको छ ।

उद्वार समितिका संयोजक एवं वडा नं १७ का अध्यक्ष सुर्यप्रसाद भट्टराई(मनोज)का अनुसार पहिलो दिन ४ बालबालिकासहित ३८ जना धरान आएका थिए । दोस्रो दिन १ सय ५७ जना धरान आएका थिए भने शनिबार २ सय २६ जना ल्याएको वडाअध्यक्ष भट्टराईले जानकारी दिए । ‘हामीले तीन दिन समय लगाएर काठमाडौंबाट मानिसहरु ल्यायौं, अब कोही समस्यामा छैनन् भन्ने निष्कर्षमा पुगेर ल्याउने काम रोकेका छौं,’वडाअध्यक्ष भट्टराईले भने,‘ल्याइएकाहरुलाई स्वास्थ्य परीक्षण गरेर, ट्राभल हिष्ट्री हेरेर होम क्वारेन्टाइनमा रहने गरि घर पठाएका छौ ।’

राजधानीबाट ल्याइएकाहरुलाई तीनै दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको र्‍यापिड रेस्पोन्स टिम(आरआरटि) र इर्मजेन्सी विभागका चिकित्सकहरुले आवश्यक स्वास्थ्य परीक्षण गरेका थिए । वीपीका आरआरटिका सदस्य एवं इर्मजेन्सी विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लले प्रतिष्ठानको इर्मजेन्सीमा लागू गरिएको ट्रियाज उपचार विधि अनुसार नै काठमाडौंबाट आएका यात्रुहरुको पनि स्वास्थ्य जाँच गरिएको थियो । यात्रुहरु कसैलाई पनि ज्वरो नआएको र ट्राभल हिष्ट्री पनि नभएकोले समस्या नभएको डा.मल्लले बताए । ‘यात्रुहरुको फिवर छ कि छैन हेर्यौं । ट्राभल हिष्ट्री पनि सोधेर १५ बुँदाको फारम भर्न लगाएका छौं । सबै ठिक भएपछि मात्र घरमै बस्न भनेर घर पठाएको हो,’डा.मल्ले भने,‘सबै जसो एक महिना लकडाउनले होम क्वारेन्टाइनमा नै रहेकोले पनि समस्या छैन ।’

लकडाउन बढ्दै गएपछि उपत्यकामा भएका धरानेहरुलाई गृहनगर ल्याउनुपर्ने दबाब बढेपछि समिति नै गठन गरेर ल्याइएको मेयर तिलक राईले बताए । यसरी ल्याउदा धरानलाई जोखिम नहुने गरी वीपी प्रतिष्ठानसँग आवश्यक सहकार्य गरेर स्वास्थ्य जाँच गरेपछि घर पठाइएको उनको भनाई छ । ‘शनिबार २२६ जना आएपछि ल्याउने काम रोक्यौं । अब समस्यामा पर्ने मान्छेहरु छैनन् भन्ने निष्कर्षमा पुग्यौं,’उनले भने ।

उद्वार गर्न बनेको समितिले धरान सरोकार समाज काठमाडौ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसँग समन्वय गरेर मानिसहरु धरान ल्याएको थियो । यसअघि, शुक्रबार उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले राजधानीबाट मानिसहरु ल्याउन जोखिम हुने भन्दै रोक्न सुझाव दिएको थियो ।


 

प्रकाशित: १३ वैशाख २०७७ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App