१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रहेनन स्वतन्त्रता सेनानी श्याम कुमार

बाँके- स्वतन्त्रता सेनानी श्याम कुमार तामाङको निधन भएको छ। ८९ वर्षको उमेरमा नेपालगन्ज कारकादोस्थित निवासमा निधन भएको हो। २००७ सालको जनक्रान्तिको अग्रपंक्तिमा काम गरेका तामाङ बाँकेका अन्तिम स्वतन्त्रता सेनानी हुन।

आइतबार नै तामाङको राप्तीनदी स्थित सिधनवा घाटमा अन्तिम दाहसंस्कार गरिएको नेपाली कांग्रेस बाँकेका सदस्य सुधान्सु कोइरालाले बताए।  

२००७ सालमा जनक्रान्ति आवहान भएपछि तामाङले नेपालको पूर्वी मोर्चाको कमान्डरको रुपमा नेतृत्व गरेका थिए। भारतको दार्जिलिङमा जन्मिएका तामाङ सन् १९४८ मा नेपाल प्रजातन्त्र कांग्रेसमा प्रवेश गरेका थिए।

जनक्रान्ति घोषणा भएसँगै स्थापना भएको जनमुक्ति सेनामा आवद्ध भएर तामाङले पूर्वी नेपालको विराटनगर, झापा, मोरङ, धनकुटा लगायतका स्थानमा भएको क्रान्तिको अगुवाई गरेका थिए। २००७ सालको जनआन्दोलन सकिएपछि जनमुक्ति सेनालाई ‘रक्षादल’ मा रुपान्तरित गरियो।

रक्षादलमा भएका सैनिकहरु नेपाल पुलिस र नेपाली सेनामा आवद्ध भएका थिए। २०१२ सालमा रक्षादलहुदै तामाङ नेपाल प्रहरीमा डिएसीका रुपमा प्रवेश गरेका थिए। २०२७ सालमा एसपीका रुपमा अवकाश लिनेपछि तामाङ विभिन्न सामाजिक सामाजिक क्रियाकलाप र भुतपूर्व नेपाल पुलिसको विकासका लागि सक्रिय भएर काम गरेका थिए। तामाङका तिन छोरा र दुइ छोरी छिन। ५ वर्ष अघि श्याम कुमारकी श्रीमती वसन्त शोभाको निधन भएको थियो।

 तामाङलाई नजिकबाट चिन्ने नेपालगन्जका अग्रज पत्रकार हेमन्त कर्माचार्य बाँकेले अन्तिम स्वतन्त्रता सेनानी गुमाउनु परेको बताए। उनले भने, ‘उहाँ (श्यामकुमार तामाङ) २००७ सालको क्रान्तिको एउटा खम्बा हुनुहुन्थ्यो। हतियार सहितको मोर्चाको नेतृत्व गरेर राणा शासन विरुद्ध लडनु भयो। निडर र स्वाभिमानी स्वभावका कारण उहाँले सबैको मनजित्नु भएको थियो। सरल र सादा जीवन बिताउने एउटा सिपाही हुनुहुन्थ्यो उहाँ। क्रान्ति सकिएपछि कहिले पनि उहाँले नेताहरु समक्ष गएर आफुलाई केहि माग्नु भएन। बरु नेपाली जनताका लागि विभिन्न सामाजिक संघ संस्थामा बसेर काम गर्नु भयो।’

कर्माचार्यले थपे, ‘नेपाल पुलिसबाट अवकाश हुँदा उहाँले इमानदार छबी बनाएका कारण सबैले आदर गर्थे। जीवनका अन्तिम समय सम्म पनि उहाँले स्वाभिमान छबी र सरल जीवनलाई अगाल्नु भयो। जनताको सेवामा लागिरहने भएकोले पनि नेपालगन्जमा उहाँलाई सबैले आदर गरे।’

नेपाल पुलिसबाट अवकाश प्राप्त गरेपछि श्याम कुमारले जनमुक्ति सेना कल्याण संघको अध्यक्ष, भुतपुर्व नेपाल प्रहरी संगठनको केन्द्रिय उपाध्यक्षका रुपमा काम गरेका थिए। त्यसपछि उनले स्थानीय स्तरमा  नेपालगन्जमा अर्वुद रोग निवारण संघ बाँके, गुम्बा संचालक समितिको अध्यक्षको रुपमा सामाजिक काम गरेका थिए। धार्मिक रुपमा साई सेवा समितिको सक्रिय सदस्य भएर पनि उनले काम गरेका थिए।

आइतबार उनको पार्थिक शरीरमा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर, नेपाली कांग्रेस बाँके पार्टी सभापति किरण कोइराला लगायतले झन्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे।  नेपाल पुलिसले अन्तिम दाहसंस्कारमा सलामी अर्पण गरेको थियो।

प्रकाशित: ७ वैशाख २०७७ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App