रौतहट- नेपाल भारत सिमानाको धेरै ठाउँमा भारतीय पक्षले आफ्नो सीमाभित्र सिसिटिभी क्यामरा जडान गरेको छ। रौतहटमा कोरोनाको संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएसँगै नेपालतिरबाट भारत पस्ने रौतहटसित सिमाना जोडिएका अधिकांश गाउँमा भारतले सिसिटिभी जडान गरेको बुझिएको छ।
रौतहटको ब्रह्मपुरी गाउँभन्दा दक्षिणको मसहा, गौरभन्दा दक्षिणको बैरगनिया, बन्जरहासँगैको बलुवा, लतमरीसँगैको हनुमान चौक, खापभन्दा दक्षिणको कबहिया ब्लक, बंकुलभन्दा दक्षिणको भारतीय गाउँमा पनि सिसिटिभी जडान गरिएका छन्।
नेपालको रौतहटबाट भारततिर जाने अधिकांश गाउँमा सिसिटिभी जडान गरी भारतीय पक्षले निगरानी सुरु गरेको छ। भारतले सिसिटिभी निगरानी बढाएपछि सीमा नाकामा आवतजावत पूरै रोकिएको छ। यसले अब तस्करी नियन्त्रणमा पनि सहयोगी भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ।
नेपालतिर भने केही सीमा नाकामा सिसिटिभी राख्ने विषयमा आन्तरिक तयारी भइरहेको सशस्त्र प्रहरी बल गण नं. ११ रौतहट हेडक्वार्टरका गणपति सशस्त्र एसएसपि रोबिनराज कर्णजितले जानकारी गराएका छन्। भारतले सीमा नाकामा सिसिटिभी क्यामरा राखेर निगरानी गरिहेको विषयमा आफूलाई खासै जानकारी नभएको सशस्त्र एसपि कणजीतको भनाइ छ।
कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै रौतहटको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।
प्रकाशित: ५ वैशाख २०७७ ०४:१५ शुक्रबार