धादिङ - धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका लागि लगाइएको छेकबार पार गर्न खोज्दा पुलबाट बगरमा खस्दा ३८ वर्षीय होमबहादुर रानाको मृत्यु भएको हो।
चितवनबाट पैदलयात्रा आएका ज्वालामुखी गाउँपालिका वडा नं ५ बाँझगराका रानाले बुधबार नै घरमा फोन गरेर आफू घर आइरहेको बताएका थिए। गोरखा र धादिङ जोड्ने उक्त पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर मृत्यु भएको स्थानीयले बताएका छन्। घटनाबारे थप विषय अनुसन्धान पछि आउने प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
सरकारले लकडाउन गरेसँगै उक्त पुलको दुवै जिल्लातर्फ छेकबार गरिएको छ। धादिङतर्फका स्थानीयले लकडाउन सुरु भएदेखि नै पुलमा अवरोध गरेर छेकबार गरेपनि गोरखातर्फ धादिङको ज्वालामुखीमा एक युवकलाई -यापिट डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिपछि काँडेतार लगाएका हुन्।
जिल्लाको ग्रामीण क्षेत्रका सडकहरुमा अनावश्यक छेकबार लगाउँदा बिरामी बोक्न गएका एम्बुलेन्सहरु मारमा परेका छन्।
प्रकाशित: ४ वैशाख २०७७ ०९:०८ बिहीबार