२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

थप ३० जना क्वारेन्टाइनमा

सुर्खेत - कर्णाली प्रदेश सरकारले बुधबार राति थप ३० जनालाई क्वारेन्टाइनमा राखेको छ। विभिन्न जिल्लाहरुमा रोजगारी गरेर फर्केका उनीहरुलाई बबई नाकाबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएको हो। सुर्खेतका १२ जना, दैलेखका १२ जना र कालिकोटका छ जनालाई बबईबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ। मंगलबार राति मात्रै बबईबाट उद्दार गरेर ३५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। योसँगै वीरेन्द्रनगरको क्वारेन्टाइनमा दुई दिनमा ६५ जना पुगेका छन्।

कोरोना संक्रमण रोक्नका लागि प्रदेश बाहिरबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय प्रदेश सरकारले गरेको छ। रुकुम पश्चिमका दुई जनाको स्वाबको नमुना जाँच गर्दा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले यहाँका सीमानाकामा थप कडाई गरेको छ। कोरोना संक्रमण देखिएको पालिकालाई सिल गरिएको छ। 

नेपालभित्रका कतीपय जिल्लाहरुमा कोरोना संक्रमण देखिएकाले पनि कर्णाली भित्रिने सीमा नाकाहरुमा कडाई गरिएको सरकारले बताएको छ। ‘बाहिरी जिल्लाबाट कर्णालीमा भित्रिने नागरिकहरुले अनिवार्य रुपमा कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘हामी कर्णालीमा कोरोना संक्रमण फैलन नदिनका लागि सबै प्रकारका सुरक्षा उपायहरु अपनाइरहेका छौं।’

कर्णाली भित्रिने मुख्य नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।

प्रकाशित: ४ वैशाख २०७७ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App