२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनको सारथी फिल्म र पुस्तक

वीरेन्द्रनगर- प्रायः कम फिल्म हेर्ने अधिवक्ता दुर्गाप्रसाद सापकोटाको बन्दाबन्दी (लकडाउन) को सारथी फिल्म बनेको छ। उनी फुर्सदको समयमा भ्रमणमा रुची राख्छन्। चैत ११ गतेदेखि लगातार लम्बिएको लकडाउनले उनी फुर्सदिला भएका छन्। उनीजस्तै कृषि अनुसन्धान केन्द्रका प्रमुख बन्धुराज बराल फिल्ममा धेरै रुची राख्दैनन्। तर लकडाउनपछि फिल्म नहेरि उनलाई सुक्कै छैन।

लगातारको लकडाउनले यहाँका बासिन्दा संगीत र साहित्यलाई सारथी बनाउन थालेका छन्। ‘अरुबेला काममा व्यस्त हुन्छु,’ कृषि अनुसन्धान केन्द्रका प्रमुख बरालले भने, ‘यतिबेला काम छैन। फिल्म हेर्नुको विकल्प पनि छैन।’ फिल्मसँगै किताब अध्ययनका लागि लकडाउन राम्रो अवसर बनेको उनको भनाइ छ। ‘अरुबेला फिल्म हेर्ने, किताब पढ्ने मन भए पनि समय अभावमा पूरा हुँदैन्थ्यो,’ अधिवक्ता सापकोटाले भने, ‘अहिले समय धेरै छ। नयाँ पुस्तक र फिल्मको अभाव छ।’

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले महाभारतको २५औँ श्रृंखला हेर्दै छन्। यो समयमा सबै श्रृंखला हेर्ने उनको लक्ष्य छ। महाभारत पुस्तक पढे पनि भिडियो नै हेर्ने उनलाई समय मिलेको थिएन। लकडाउन उनका लागि राम्रो अवसर बन्यो। ‘अरुबेला किताब पढ्ने रुचीको विषय हो,’ उनले भने, ‘लकडाउनको समयमा एउटा किताब पढेँ।
प्रदेश सांसद अमरबहादुर थापा पनि केही स्वास्थ्य सामग्री वितरण गरेर घरमै बसेका छन्। उनी पनि यो समयमा केही मन पर्ने फिल्म हेरिरहेका छन्। ‘जनताको घर दैलोमा गइरहँदा कोरोना भाइरसको संक्रमणको जोखिम हुन्छ,’ उनी भन्छन्, ‘मबाट जनतामा सर्न सक्छ, वा जनताबाट ममा सर्न सक्छ।’ त्यसैले यतिबेला आफू बच्ने र अरुलाई बचाउने भन्ने सिद्धान्त राख्नु पर्ने उनको भनाइ छ।  

अन्यबेला बिहान उठ्दादेखि साँझसम्म पद्मा खड्काको दिनचर्या जनताको घरदैलो, भेला सम्मेलनमै बित्ने गथ्र्याे। तर हिजोआज न उनी जनताका घरमा गएकी छिन् न त भेला सम्मेलनमा। उनी भन्छिन्, ‘नेपाल सरकारसँगै प्रदेश र स्थानीय तहले गरेको लकडाउनलाई पूर्णरूप पालना गर्नु हामी सांसदको पनि जिम्मेवारी हो।’ जनतालाई दिने राहतदेखि उपचारसम्मका कुरामा प्रदेश र स्थानीय सरकारसँग फोनमार्फत् समन्वय भइरहेको सांसद खड्काले बताइन्। सांसद खड्काले चेतनामूलक गीतसँगै अन्य समसामायिक विषयमा निमार्ण गरिएका भिडियो हेर्ने गर्छिन्।

यतिबेला कर्णालीको विकासका लागि गर्न सकिने योगदानका विषयमा अध्ययन पनि गर्दै छिन्। कोरोना भाइरसले चुनौतीसँगै अवसर पनि भएको उनले बताइन्। ‘बैदेशिक रोजगारीका लागि भारतलगायतका मुलुकमा गएका युवा यतिबेला फर्किएका छन्,’ उनले भनिन्, ‘यी सबैलाई उत्पादनसँगै अन्य काममा लगाउनु पर्छ।’

लकडाउनपछि व्यापार व्यवसाय, यातायातका साधन ठप्प भएपछि बजार सुनसान छ। हिँडडुलका कडाई गरेपछि यहाँका बासिन्दा घरमै बसेका छन्। घरमा बस्दा समय बिताउन इन्टरनेटको प्रयोग बढेको छ। ‘नेपालीसँगै भारतीय फिल्म हेरेर दिन बिताउँछु,’ सुर्खेतका रामु केसीले भने। इन्टरनेट नभए समय बिताउन समस्या हुने बताउँदै उनले भने, ‘मनोरञ्जनको साथी फिल्म बनेको छ।’
 

प्रकाशित: ३० चैत्र २०७६ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App