२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सोडियम हाईपोक्लोराइड छर्कदै नगरपालिका

रातका समयमा दिक्तेलबजारमा सोडियम हाईपोक्लोराइड छर्कनका लागि हिँडाइएको गाडी। तस्बिरः नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा कोरोना भाइरस (कोभिड–१९)को जिवाणु नाश गर्ने रसायन (औषधि) छर्किन थालेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेलबजारको जिरोपइन्ट (रत्नपार्क)देखि सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट छर्किन सुरु गरेको हो।

शुक्रबार राति ८ बजेपछि दिक्तेलको जिरोपइन्टदेखि रत्नपार्क, संगमपार्क, पुरानो बेसक्याम्प, त्रिबेणीचोक, भवनगैरा लगायतका क्षेत्रमा सोडियम हाईपोक्लोराइड छर्किएको नगरपालिकाले जनाएको छ। 

हरेक वस्तुको सतहमा रहेका जिवाणु, भाइरस तथा व्याक्टेरिया मार्नका लागि बजारका घना वस्ती, बढि चहलपहल भएको क्षेत्र र संक्रमणको उच्च जोखिमकारुपमा शंका गरिएका ठाउँमा सोडियम हाईपोक्लोराइड छर्किन सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए। सर्वसाधारणको स्वास्थ्यलाई समेत ध्यानमा राखेर बिश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम ०.५ प्रतिशतको घोल बनाएर औषधि छर्न थालिएको हो। दिक्तेलबजारका अन्य क्षेत्रमा पनि क्रमशः सोडियम हाईपोक्लोराइड स्प्रे गरिने नगरपालिकाले जनाएको छ। 

जिवाणु, भाइरस तथा व्याक्टेरिया नाश गर्नका लागि नगरपालिकाले २२५ लिटर सोडियम हाईपोक्लोराइड ल्याएको जनाएको छ। एक लिटर सोडियम हाईपोक्लोराइडमा आठ लिटर पानी घोलेर कम्प्रेसर मेसिन प्रयोग गरेर बजार क्षेत्रमा छर्न थालिएको हो। नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतको टोलीले बजारमा सोडियम हाईपोक्लोराइड छर्केका हुन्। पहिलो दिन ५ सय लिटर सोडियम हाईपोक्लोराइड र पानीको घोल स्प्रे गरिएको छ। क्रमशः जिल्ला अस्पताल क्षेत्रमा पनि सोडियम हाईपोक्लोराइड छरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए।

 

प्रकाशित: २९ चैत्र २०७६ ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App