काठमाडौँ - बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।
लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत घटेकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ। देश विदेशबाट हुने उडान हाल बन्द छ। विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको छ। यातायात सहज नभएपछि उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ।
यातायात सहज भएका बेला काँठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे। यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काँठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो। विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले चार हजार रुपैयाँ शुल्क लिने गरेको छ। भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको एक हजार ५०० रुपैयाँ शुल्क लाग्छ। यसैगरी आर्यघाटमा एक हजार ९०० रुपैयाँ शुल्क लाग्छ। दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ। दाउरा किलोको नौ रुपैयाँमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाल बन्दाबन्दी शुरु भएपछि उपत्यकामा दुर्घटनाबाट मर्नेको क्रम रोकिएको बताउछन्। त्यसअघि दैनिक एक जना मानिस उपत्यकामा दुर्घटनामा परी मर्ने गरेको तथ्याङ्क महाशाखासँग छ। बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले शवदाह नगर्ने भन्दै विरोध जनाएका थिए। यसपछि मृतकका आफन्तले नै शवदाह गरेका थिए। बन्दाबन्दीका अवसरमा बेखर्चीले शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा यसअघि नै कोषले गरिसकेको छ। रासस
प्रकाशित: २४ चैत्र २०७६ ०३:४२ सोमबार