२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पैदल यात्रीलाई चौकुनेमा क्वारेन्टाइन स्थापना

चौकुनेमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएकाहरुका लागि प्रदेशकोतर्फबाट खाद्यान्न उपलब्ध गराउँदै मन्त्रीद्वय भण्डारी र बुढा। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - भारतबाट कैलालीको चिसापानी हुँदै पैदल यात्रा गरेर भित्रिने कर्णालीका नागरिकहरुका लागि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा क्वारेन्टाइन स्थापना गरिएको छ। भारतबाट आएका नागरिकहरु कैलालीबाट पैदल यात्रा गरेर दैनिक सयौंको संख्यामा कर्णालीमा भित्रिने गरेका छन्।

पैदल यात्रा गरेर आउने नागरिकहरुलाई राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको हो। चौकुने गाउँपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा लागि प्रदेश सरकारले आवश्यक खाद्यान्न, सुरक्षा र भौतिक पूर्वाधारको व्यवस्था गर्नेछ।

गाउँपालिकाले जीवनज्योति माविको भवनलाई क्वारेन्टाइन बनाएको छ। ‘तत्कालका लागि विद्यालय भवनमा ६० जनालाई राख्ने व्यवस्था मिलाएका छौं,’ गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले भने, ‘आवश्यकता अनुसार अन्य सार्वजनिक भवनहरु प्रयोग गछौं।’ 

कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघिसम्म अछाम, दैलेख, कालिकोट, बाजुरा, जुम्लालगायतका जिल्लाका नागरिकहरु कैलालीको चिसापानी, सुर्खेतको गुटु हुँदै पैदल यात्रा गर्थे। कोरोना भाइरसका कारण भइरहेको लकडाउनले यातायातका साधन बन्द भएपछि अहिले यहीँ रुटबाट दैनिक सयौंको संख्यामा पहाडी जिल्लाका नागरिकहरुले यात्रा गरिरहेका छन्।

कर्णाली प्रदेश सरकारले पैदल यात्रा गरेर भारतबाट आएका सबै नागरिकहरुलाई गुटुमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। मंगलबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले क्वारेन्टाइनस्थलको अनुगमन गरे। 

कानुन मन्त्री भण्डारीले संभावित कोरोना संक्रमण गाउँगाउँमा फैलिनबाट रोक्नका लागि पैदल यात्रा गरेर आएका नागरिकहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न गाउँपालिकालाई निर्देशन दिए।

‘बबई नाकाबाट आउने कर्णालीका नागरिकहरुलाई वीरेन्द्रनगरमा राख्ने गरिएको छ, कैलालीको चिसापानी हुँदै आउने यात्रुहरुलाई चौकुनैमा रोक्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने, ‘सरकारले तोकेको न्युनतम अवधि क्वारेन्टाइमा राखेर मात्रै घर पठाइनुपर्छ।’ उनले क्वारेन्टाइनका लागि आवश्यक खाद्यान्न, सुरक्षा, चिकित्सक र अन्य भौतिक पूर्वाधारहरु प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिए।

प्रदेश सरकारले क्वारेन्टाइनका लागि आवश्यक खाद्यान्न पनि उपलब्ध गराएको छ। उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले क्वारेन्टाइमा राखिएकाहरुका लागि खाद्यान्न उपलब्ध गराएको हो। उद्योग मन्त्री बुढाले तत्कालका लागि १५ सय केजी चामल, एक सय केजी दाल, ५० केजी नुन, तेल, खुर्सानी, चिनी, बेसारलगायत उपलब्ध गराइएको बताए।

सालकोटमा आइसोलेसन
प्रदेश सरकारले पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड स्थापना गर्ने भएको छ। सालकोट स्वास्थ्य चौकीमा तीन वेडको आइसोलेसन स्थापना गरिने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए।

‘पश्चिमका तीन वटा पालिका र भारतबाट पैदल यात्रा गरेर आउनेहरुका लागि सालकोटमा आइसोलेसन स्थापना गर्ने तयारी थालेका छौं,’ उनले भने, ‘स्वास्थ्य चौकीमा अहिले सञ्चालनमा रहेको क्वारेन्टाइन नजिकैकै सुर्यप्रकाश माविमा सारिने छ।’ सालकोट स्वास्थ्य चौकीमा चिकित्सकसहितको दरवन्दी भएकाले आइसोलेसन कक्ष स्थापना सहज हुने उनले बताए।

 

प्रकाशित: १९ चैत्र २०७६ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App