म्याग्दी - काेरोना भाइरस संक्रमणको त्रासले गर्भवती, सुत्केरी हुने अवस्थामा समेत अस्पतालमा आउन डराइरहेका छन्। संक्रमणको जोखिमले आफ्नो र गर्भमा रहेको बच्चालाई समेत असर गर्ने भन्दै नियमित जाँचका लागि आउनुपर्ने गर्भवतीहरू आउन छोडेको बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डाक्टर नवराज बस्ताकोटीले बताए। ‘केही दिनयता आउनैपर्ने अवस्थाका महिलाहरू सम्पर्कमा आउनुभएको छैन्,’ डाक्टर बस्ताकोटीले भने, ‘अस्पताल आउँदा उहाँहरूलाई केही समस्या भए हामी व्यवस्था मिलाउँछौं।’ उनले जोखिम हुन्छ भन्ने जान्दाजान्दै गाउँघरमै हुने सामान्य निजी क्लिनिकको भरपर्दा वा पीडा खपेर घरमै बस्दा थप समस्या निम्तिने भएकाले अस्पतालमा आउन सार्वजनिक सूचनासमेत जारी गरिएको बताए।
नियमित तेस्रो र चौथो पटक गर्भ जाँच गर्नुपर्ने महिला आएका छैनन्। बजारमा कोरोनाको संक्रमणको जोखिम छ भन्दै अटेर गरेका छन्।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै गण्डकी प्रदेशको निर्देशनमा बेनी अस्पतालको बहिरंग विभाग (ओपिडी) सेवा बन्द भएपछि नियमित जाँचका लागि आउनुपर्ने गर्भवतीलाई आवश्यकताअनुसार सेवा दिइरहेको डाक्टर बस्ताकोटीको भनाइ छ। ‘तेस्रो र चौथो पटक जाँच गर्नुपर्ने महिलाहरू आउनुभएको छैन, बजारमा कोरोनाको संक्रमणको जोखिम छ भन्दै अटेर गर्नुभएको छ,’ डाक्टर बस्ताकोटीले भने।
सरकारी अस्पतालहरूमा ओपिडीसँगै अन्य नियमित सेवासमेत बन्द भएको हल्ला फैलिएकोमा चिकित्सकले चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्यकर्मीसहितको टोली कोरोनाविरुद्धको फिबर क्लिनिकमा व्यस्त भए पनि महिला तथा बालबालिकालाई दिइने सेवाहरू बन्द नभएकाले जोखिम हुन्छ भन्ने जान्दाजान्दै निजीमा जाने, यातायातका साधन सञ्चालन छैन भनेर घरमै सुत्केरी हुँदा आमा–बच्चाको स्वास्थ्य खतरा हुन सक्ने चिकित्सकको भनाइ छ। म्याग्दी लक–डाउन हुनुअघि दैनिक तीनदेखि पाँच जना महिलाले प्रसूति गराउने गरेकोमा पछिल्लो दुई दिनयता एक जना नआएको र जोखिम हुन्छ भन्ने जान्दाजान्दै पनि निजी सामान्य क्लिनिक वा घरमै सुत्केरी भएको हुनसक्ने भन्दै चिकित्सकले आमा र बच्चाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: १५ चैत्र २०७६ ०३:२९ शनिबार