२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पीण्डेश्वर क्याम्पसमा पुरातात्विक महत्वका सिक्का भेटिए

पीण्डेश्वर क्याम्पसमा जग खन्दा भेटिएका सिक्का। तस्बिर: रोहित/नागरिक

धरान, – धरान–१४ स्थित पीण्डेश्वर विद्यापीठको नयाँ भवन निर्माणको क्रममा जग खन्दा पुरातात्विकम हत्वका सिक्का फेला परेका छन्। पीण्डेश्वर मन्दिरनजिक क्याम्पसले नयाँ भवन निर्माण गर्न जग खनिरहँदा करिब डेढ सय वर्ष पुराना सिक्का भेटिएका हुन्। पुरातात्विक महत्वका सिक्का भेटिएपछि तत्काल निर्माण कार्य रोक्न पुरातत्व विभागले आग्रह गरेको वडा नम्बर १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए।

विभागको आग्रहपछि काम रोकिएको र उत्खनन गर्न वडा कार्यालयले विभागलाई पत्राचार गर्ने पनि उनले बताए। ‘विभागले जग खन्ने काम रोक्न मौखिक आग्रह ग-यो, हामीले रोकेका छौं। वडा कार्यालयले इलाका प्रशासन, विभाग सबैतिर पत्राचार गरेको छ,’ वडाध्यक्ष भट्टराईले भने, ‘यो क्षेत्र पुरातात्विक महत्वले भरिएकोे छ, विभाग र सरकारले पनि यस क्षेत्रको संरक्षण गर्दै उत्खनन गरेर यसको महत्वलाई अझ उजागर गर्नुपर्छ।’

क्याम्पस परिसरमा तामा जस्तै धातुका १ सय ६० थान सिक्का भेटिएका छन् भने एउटा बाला पनि भेटिएको छ। यस्तै, ९ थान तामा जस्तै रङका ढुंगाका टुक्रा भेटिएका छन्। ढुंगाजस्तो देखिने वस्तु करिब २ सय वर्षअघि प्रचलनमा रहेको डोली पैसा हुनसक्ने जानकार बताउँछन्। भेटिएका सिक्का तत्कालीन राजा सुरेन्द्रविक्रम शाहका पालाका पनि छन् भने इस्ट इन्डिया कम्पनीको पालाका सन् १८६२ लेखिएका सिक्का पनि छन्। फेला परेका सिक्का बिहीबार वडा कार्यालय, पीण्डेश्वर बाबाधाम समिति र क्याम्पस प्रशासनको रोहबरमा मुचुल्का उठाएर अस्थायी प्रहरी चौकी विजयपुरलाई संरक्षण गर्न जिम्मा दिइएको छ। सिक्का भेटिएकोबारे जानकारी पाएपछि पुरातत्व विभागले धनकुटास्थित क्षेत्रीय कार्यालयबाट कर्मचारी पठाउने जानकारी गराएको छ।

हाल पीण्डेश्वर विद्यापीठले नयाँ भवन निर्माण गर्न लागेको ठाउँमा पीण्डेश्वर मन्दिरको गौशाला रहेको जानकारहरूको भनाइ छ। पीण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार अहिले पनि त्यस ठाउँमा गौशालाका भग्नावशेष छन्। ‘पीण्डेश्वर मन्दिरमा राज्यबाट हन्डी खाएर बस्ने ७० जना जोगीलाई लालनपालन गर्ने गौशाला यो ठाउँमा थियो, यहाँ अहिले पनि इँटाका जगहरू छन्,’ अध्यक्ष वनेपालीले भने। पुरातात्विक महत्वका सिक्का भेटिएपछि विजयपुर क्षेत्रको अध्ययन, अनुसन्धान र गरिमालाई संरक्षण गर्नुपर्ने धारणा बुद्धिजीवीकले व्यक्त गरेका छन्। पीण्डेश्वर विद्यापीठका पूर्वप्राचार्य एवं प्राध्यापक डा. रमेश घिमिरेले सरकारले विशष नीति बनाएर ऐतिहासिक, सांस्कृतिक सम्पदाको भण्डारलाई संरक्षण गर्नुपर्ने बताएका छन्। ‘धरानको विजयपुर क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको भण्डार हो, यसको विषयमा गम्भीर अध्ययन गर्ने, अनुसन्धान गर्ने र यसको उच्च गरिमालाई संरक्षित गर्ने काम गम्भीरतापूर्वक हुनुपर्दछ,’ डा. घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: ७ चैत्र २०७६ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App