८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बिहे गर्ने भन्दै ३३ लाख ठग्ने युवा पुर्पक्षका लागि थुनामा

उदयपुर- बिहे गर्ने आश्वासन दिएर एक महिलाबाट लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका खोटाङका एक युवालाई अदालतले पुर्पक्षका लागि थुना आदेशमा राख्ने दिएको छ। बिहे गर्ने शर्तमा पटकपटक गरी ३३ लाख बराबर ठगी गरेको आरोपमा पक्राउ परेका खोटेहाङ गाउँपालिका-५ चिप्रीङका ३४ वर्षीय मोहन राईलाई जिल्ला न्यायाधीश मनोज केसीको बुधबार बसेको इजालसले पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको हो।

पीडितको उजुरीका आधारमा फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा यस्तो फैसला भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार गत माघ २९ गते पीडितले आफू ठगिएको भन्दै राईविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको थियो। प्रहरीका अनुसार राईले ‘भारतमा औषधि पसल सञ्चालन गर्दै आएको र छिट्टै बिहे गरेर संयुक्त व्यवसाय गरेर सुखी जीवन बिताउने’ आस देखाउदै पटकपटक महिलाबाट पैसा र सुनचाँदी लिएको उजुरीमा उल्लेख छ।

महिलाले ललाईफकाई प्रेम जालमा पारेर भएभरको सम्पत्ति लिएर सम्पर्कविहीन भएको र औषधि पसलमा लगानी थप्न भन्दै सुरुमा ४० हजार र त्यसपछि भान्जी अस्ट्रेलिया पठाउन १ लाख ५० हजार र ९ तोला सुन लिएको उजुरीमा उल्लेख गरेकी छन्। पैसा र सुनचाँदी तथा अन्य सम्पत्ति सकिएपछि उनी बस्दै आएको त्रियुगा नगरपालिका ११ गाईघाट बजारकै १८ कोठे घर वास्तविक मूल्यभन्दा धेरै कम ६७ लाखमा बेच्नेगरी २७ लाख रुपैयाँ बैना (पेश्की) रकम लिएर राई फरार भएपछि महिलाले उजुरी दिएको प्रहरीले जनाएको छ।

यत्रो सम्पत्ति दिन राजी भएकी महिला झण्डै दुईदशकयता श्रीमानभन्दा अलग रहदै आएको प्रहरी भनाई छ। महिलाकै घरमा डेरा लिएर बस्दै आएका राई र १८ वर्षदेखि श्रीमानसँग अलग भएर बस्दै आएकी एक बिवाहित छोरीकी आमा ती महिलाबीच प्रेम सम्बन्ध स्थापित भएपछि सम्पत्ति लिने सिलसिला जोडिएको प्रहरीले जनाएको छ। बिहे गरेर काठमाडौं बस्दै आएकी गर्भवती छोरी सुत्केरी हुन माईत आउँदा छिमेकीको मुखबाट आमाको घर बिक्री भईसकेको र बैनासमेत भईसकेको जानकारी पाएपछि सोधखोज गर्दा तथ्य बाहिरिएपछि प्रहरीमा उजुरी पर्न आएको बताइएको छ।

श्रीमान–श्रीमतीबीचको बेमेलपछि बजारमै डेरा लिएर बसेका बुबाको सम्पत्तिसमेत बेचिने खतरा बढेको भन्दै छोरीले राईविरुद्ध उजुरी दिन उक्साएपछि महिला प्रहरी गुहार्न आईपुगेको अनुमान छ। ‘वर्षौंदेखि श्रीमानसँग अलग रहेकी महिला घरमै डेरा लिएर बसेका राईसँग प्रेममा परेको देखिन्छ’ एसपी मगर भन्छन् ‘यही मेसोमा पैसा, सुनचाँदी र घरसम्म बेचेर लिने काम भएको पाइयो।’

छिमेकीका अनुसार दुवैजना विदेश बसेर कमाएको पैसाले बनाएको घर र जोडेको जायजेथा श्रीमान–श्रीमतिबीच असहमति सुरु भएपछि दुईदशकयता श्रीमतीलाई घर छाडिदिएर श्रीमान डेरा लिएर अलग्गै बस्दै आएका हुन्। श्रीमान अलग्गिएको वसेको ‘ग्याब’ कै कारण यस्तो अवस्था निम्तिएको प्रहरीको अनुमान छ।

प्रकाशित: २९ फाल्गुन २०७६ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App