१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कुमौनी होलीमा झुम्दै सुदूरपश्चिम

कैलाली –
आयो शहरमे व्यौपारी, जोगी आयो शहरमे व्यौपारी,
इस व्यौपारीको भुक लगिहे, खाना खिलादे मतवाली,
आयो शहरमे व्यौपारी, जोगी आयो शहरमे व्यौपारी...

काली कुमौनी ‘होरी’ (होली) गीत गाउँदै रमाइलो गर्दैछन्, सुदूरपश्चिममा। यतिखेर सुदूरपश्चिम होलीको रङले एक अर्कालाई रंग्याउँदै ड्यौडिया भाकामा गाइएका भगवान श्रीकृष्ण र रामलगायतका गाथाले गुञ्जयमान बनेको छ। पश्चिम नेपालमा ड्यौडिया होरी परापूर्व कालदेखि मनाउन थालिएको ज्योतिषी खेम मिश्र बताउँछन्। ‘सुदूरपश्चिममा मनाइने होलीमा भारतका मथुरा, काली कुमाउनी र गडवाली भाषाका गीत बज्ने हुँदा हिन्दी लवज प्रयोग भएका छन्,’ उनले भने, ‘त्यसैले भारतका ती क्षेत्रबाट भित्रिएको अनुमान गर्न सकिन्छ।’

पूर्वी नेपालमा रङ दलेर होली मनाइने भएपनि सुदूरपश्चिमका पहाडी समुदायले डेउडाको लयमा श्रीकृष्ण र रामलगायत भगवानका गाथा गाउँदै एक अर्कामा रङ दलेर होली खेलिन्छ।

सुदूरपश्चिमको तराईमा बसोबास गर्दै आएका आदिवासी रानाथारू पहाडी होलीजस्तै गोलवद्ध भएर विभिन्न भगवानका गाथा गाउँदै खेल्ने गरेको उनी बताउँछन्।

असत्यमाथि सत्यको विजयीका रूपमा लिइएको होलीलाई हिरण्यकस्यपकी बहिनी होलिकालाई दहन गरेको खुसीयालीमा मनाइने गरिन्छ। ब्रम्हाबाट मानिस र भगवानले नमार्न सक्ने वरदान पाएका हिरण्यकस्यपले आफ्ना छोरा प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा हाम फाल्न पठाएका थिए। अग्निमा हाम फालेकी होलिका भष्म भएको खुसीयालीमा होली मनाइने गरिन्छ।

पहाडमा चतुर्दशी र तराईमा पूर्णिमामा होलिका दहन गरेर होली मनाइन्छ। रामले रावणलाई तथा कृष्णले मामा कंशलाई मारेको घटनालाई जोडेर गीतमार्फत् लयवद्ध तरिकाले गोलघेरामा सुदूरका पहाडी जिल्लामा होली खेल्ने गरिएको सुदूरपश्चिमका संस्कृतिविद् बद्री विनाडी बताउँछन्। ‘होलीमा गुञ्जिने गीत ठाउँअनुसार फरक हुने गरेका छन्। भारतको मथुरा, कुमाउ, गडवालबाट आएका होली गीत हिन्दी लवजका हुने गरेका छन्,’ उनले भने, ‘होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेकोे छ।’

अछामी होरी
‘सेतो जामामा पगरी बाँधेर सेतै फेटा पहिरिएर ‘अछामी होरी’ डेउडाको लयमा खेलिने गरिन्छ। अछामी होरी शिवरात्रिको दिनबाट औपचारिक सुरुआत हुने गरेपनि अष्टमीको दिनबाट होरी खेल्ने प्रचलन छ। मेलको हाँगा काटेर त्यसमा रंगीचंगी ध्वजापताका लगाउने र त्यसलाई होली खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ। त्यही चीरलाई पूर्णिमाको दिन होली खेलेर अन्त्यमा आगोले जलाउने प्रचलन छ। होलीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला,चारित्रिक माया प्रेमका कुरा समेटिएका डेउडा गाउने प्रचलन छ।

अछामी समुदायको ठूलो बस्ती रहेको मंगलसेनसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको झलारीमा साता दिनदेखि निरन्तर ‘होरी’ को रौनकले छाउने गरेको छ। अछामी होरी दुईओटा समूहमा विभाजन भएर खेलिन्छ। यो खेल खेल्दा सफा सेतो कपडाको पहिरनमा सजिने परम्परा छ। खेलमा एक समूहमा कम्तीमा २० देखि २५ जनासम्म खेलाडी हुनुपर्छ। सुदूरपश्चिममा मनाइने अन्य होलीभन्दा भिन्न प्रकारको अछामी होली हो। अछाममा होलीको विषेश महŒव रहने गरेको छ। शिष्ट भाषामा मौलिक पहिरनसहित सुदूरपश्चिममा अछाममा मात्रै खेलिने गरेको संस्कृतिविद् विनाडी बताउँछन्। ‘अछामीहरूले शिवरात्रिका दिन पर्गलो (ध्वजा पताका) शिवमन्दिरमा चढाएर होरीको सुरुवात गर्छन्।’

अछामको सुवाली गाउँमा भारतको अलिगढबाट ७० वर्ष अघि आएका डण्डी स्वामीले परम्परागत होली गीतलाई परिमार्जित गर्दै काली कुमाउनी र अलिगढको लवजमा परिवर्तन गरेका थिए। तिनै अलिगढे होली गीत अहिलेसम्म गाउँदै आइएको छ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App