१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

स्थानीय तहमा कर्मचारी अभावले समस्या

नुवाकोट – मुकेश भट्टराई सिनियर अहेबको रूपमा शिवपुरी गाउँपालिका–५ स्थित महाकाली स्वास्थ्य चौकीमा कार्यरत छन्। तर भट्टराईले स्वास्थ्य चौकीमा हुने गतिविधिमा समय दिनुका साथै स्थानीय पञ्जाधिकारीको कामसमेत गर्दै आइरहेका छन्। कारण हो, वडामा सचिव नहुनु। पेसाले स्वास्थ्यकर्मी भए पनि प्रशासनिक काम गर्दा अनुभव नभएकाले समस्या झेल्नुपरेको उनको भनाइ छ।

‘स्थानीय तहमा पर्याप्त कर्मचारी नहुँदा वडामा स्थानीय तहले पञ्जाधिकारीको जिम्मेवारी दिएको छ। जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता र सम्बन्ध विच्छेदको काम गर्नुपर्छ। स्वास्थ्य संस्थामा र प्रशासन कक्षमा सेवाग्राही आइराखेका हुन्छन्। उहाँहरूलाई पर्खाएर सेवा दिनुपर्छ,’ भट्टराईले भने, ‘चालू आवको सुरुवातदेखि पञ्जाधिकारीको काम गर्दै आएको छु। स्थानीय तहले सेवा प्रवाहलाई सहज बनाउन एक पटक तालिम दिएको थियो। दोहोरो काम गर्नेलाई सेवासुविधा बढाउने भन्ने कुरा थियो स्थानीय तहबाट तर लागु भएको छैन।’

शिवपुरी गाउँपालिकामा ८ वटा वडा रहेका छन्। कुनै वडामा पनि सचिव छैन। वडामा सचिव मात्र होइन, गाउँपालिकाको कार्यालयमा पनि शाखागत कर्मचारी नहँुदा सेवा प्रवाहमा समस्या हुने गरेको गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले बताइन्। गाउँपालिकामा विभिन्न तहमा कार्य गर्न ३३ जना कर्मचारीको आवश्यकता भए पनि हाल तीनजना कर्मचारी मात्र रहेको उपाध्यक्ष केसीले बताइन्। ‘गाउँपालिकामा कर्मचारी छैनन्। कर्मचारीको काम जनप्रतिनिधिले गर्न नमिल्ने। कर्मचारीको माग गरिरहेका छौं। तर, माग पूरा भएको छैन। कर्मचारी नहुँदा प्रशासनिकदेखि आर्थिक पक्षका काममा ढिलासुस्ती हुने गरेको छ। नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन्,’ उपाध्यक्ष केसीले भनिन्, ‘जसको सिङ छैन उसको नाम तिखे भने जस्तो गाउँमा आएको सिंहदरबार भन्छौं स्थानीय तहलाई तर कर्मचारी छैनन्। काम चापाचाप छ। कार्यान्वयन गर्न समस्या छ।’

यता दुप्चेश्वर गाउँपालिकाका सातवटै वडा र तार्केश्वर गाउँपालिकाका ६ वटै वडा सचिवविहीन अवस्थामा सञ्चालित छन्। ती स्थानीय तहमा रहेका वडामा सचिवको काम कार्यालय सहायकले धानिरहेका छन्। ‘गाउँपालिकाका शाखाहरूमा र वडा कार्यालयमा सचिवदेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पर्याप्त मात्रामा छैनन्। जनताको कामलाई तीव्रता दिन कठिनाइ भइरहेको छ,’ तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले भनिन्, ‘कार्यालय सहायकहरूलाई २÷३ वटा वडा हेर्ने गरी सचिवको जिम्मा दिएका छौं।’

कर्मचारी छैन भनेर कुनै पनि काम सम्पन्न गर्न समस्या नदेखाई भएको कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य गरेर नागरिकलाई सेवा प्रदान गरिरहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष्य योविन्द्रसिंह तामाङले बताए। तामाङको अनुसार गाउँपालिकामा कर्मचारी आउने क्रम जारी नै रहेको छ।

विकास निर्माणका कामलाई गुणस्तरीयता प्रदान गरी बजेट समयमै खर्च गर्न स्थानीय तहलाई कर्मचारी अभावले समस्या भएको छ। तर, जिल्लाको ककनी गाउँपालिकाले भने कामलाई सहज बनाउन एकजनाले दुई वडा हेर्ने गरी चारजना प्राविधिक र गाउँपालिकामा एकजना इन्जिनियर करारमा नियुक्ति गरिएको छ। ८ वटा वडामध्ये गाउँपालिकाका २ वडामा सचिव नभएको गाउँपालिका उपाध्यक्ष सीता लामा खतिवडाले बताइन्। ‘प्रत्येक वडामा एकएक जना गरी आठजना र गाउँपालिकामा दुईजना गरी १० जना प्राविधिक चाहिने हो तर करारमा प्राविधिक र इन्जिनियर नियुक्ति गरेर सेवा प्रवाहलाई अघि बढाइरहेका छौं,’ उपाध्यक्ष खतिवडाले भनिन्, ‘योजनाहरू असार मसान्तसम्ममा कार्यान्वयन गरिसक्नुपर्छ। कर्मचारी नहुँदा अहिले बजेट निकासा गर्न गाह्रो छ। जब असार लाग्छ अनि हतारमा काम हुन्छ। काममा गुणस्तरीयता हुँदैन। लगानी बालुवाको पानी जस्तै हुन्छ।’

यता पञ्चकन्या गाउँपालिकामा भने अन्य स्थानीय तहको तुलनामा कर्मचारी समस्या नरहेको उपाध्यक्ष सीता खड्का पराजुलीले बताइन्। ‘गाउँपालिकाको कृषि शाखामा बाहेक अन्य शाखामा कर्मचारी पर्याप्त छन्। पशु शाखामा रहेका कर्मचारीले कृषि शाखा पनि सहकार्यमा सञ्चालन गरिरहेका छन्,’ पराजुलीले भनिन्।

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App