२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हवाई उडान जोखिममुक्त बनाउन प्राधिकरण प्रस्ताव

काठमाडौं – हवाई उडानलाई जोखिममुक्त बनाउन सरकारले हवाई सेवा प्राधिकरण र सञ्चालक समिति रहने व्यवस्था राखेर राष्ट्रियसभामा विधेयक दर्ता गरेको छ। हालै दर्ता गरिएको नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्था गर्न बनेको विधेयकमा प्रस्तावित व्यवस्था सैनिक वायुयान उडानका लागि तोकिएको विमानस्थल क्षेत्रको हकमा भने लागू हुनेछैन। विमानस्थल सेवा तथा एयर नेभिगेसन सेवालाई सुरक्षित, स्तरीय र प्रभावकारी बनाउन हवाई सेवा प्राधिकरण गठन गर्ने प्रस्ताव गरिएको हो।

प्राधिकरणले विमानस्थलको निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापन गर्ने, खोज तथा उद्धार कार्यमा समन्वय गर्ने, उडानका लागि मौसमसम्बन्धी सूचना आदानप्रदान गर्ने, हेलिप्याडसम्बन्धी मापदण्ड निर्धारण गर्ने, वायुयानको आगमन तथा प्रस्थान गर्ने स्थान, हवाई–मार्ग तथा उडान अवतरण विधि निर्धारण गर्नेलगायत काम गर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणको काम–कारबाहीको सञ्चालन, रेखदेख तथा व्यवस्थापन गर्न सात सदस्यीय सञ्चालक समिति गठन गर्ने व्यवस्था गरिएको छ। नागरिक उड्ययनको क्षेत्रमा १० वर्ष अनुभव भएको व्यक्तिमध्येबाट एक जना अध्यक्ष रहने प्रस्तावित समितिमा पर्यटन, गृह र अर्थमन्त्रालयका सहसचिवहरू, नेपाल वायुसेवा निगम महाप्रबन्धक र निजी वायुसेवा कम्पनीबाट मन्त्रालयले मनोनयन गरेकोसहित पाँच जना सदस्य तथा नेपाल वायुसेवा निगमकाबलश्रबन्ध–निर्देशक सचिव रहने व्यवस्था गरिएको छ।

निजी क्षेत्रले मन्त्रालयको स्वीकृति लिई प्राधिकरणबाट स्वीकृत मापदण्ड पूरा गरी आफ्नो प्रयोजनको लागि हेलिप्याड निर्माण गरी हेलिकोप्टर उडान सेवा सञ्चालन गर्न सक्नेछ। आपतकालीन अवस्था वा विशेष अनुमति लिएको अवस्थामा बाहेक अन्य राष्ट्रबाट प्रस्थान गरेका वा त्यस्ता राष्ट्रमा गन्तव्य भएका उडानले अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र उडान तथा अवतरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल सरकारले विमानस्थल तथा त्यसको वरपर कायम राख्नुपर्ने वातावरण संरक्षण, ध्वनि तथा वायु प्रदूषणको स्तर तोक्ने र उड्डयन गतिविधिबाट उत्पन्न हुने ध्वनि तथा वायुको मूल्यांकन गर्ने विधि वा प्रक्रिया निर्धारण गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ।

विमानस्थल सञ्चालकले विमानस्थल क्षेत्रमा चराचुरुङ्गी तथा वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी व्यवस्था मिलाउनुपर्नेछ। विमानस्थल र विमानस्थलको तीन किलोमिटर वरिपरिको क्षेत्रमा कसैले पनि अनियन्त्रित वधशाला स्थापना गर्ने तथा फोहोर मैला थुपार्न पाइने छैन।

विमानस्थल क्षेत्र वरपर वा हवाई मार्गमा रहेको घर–जग्गाबाट वायुयान उडानमा अवरोध वा शंकास्पद गतिविधि गरेमा नजिकको सुरक्षा निकाय वा स्थानीय तहका प्रतिनिधिको रोहवरमा त्यस्तो घर वा जग्गा प्रयोग गरिरहेको व्यक्तिलाई पूर्वसूचना दिई विमानस्थल सञ्चालकबाट अख्तियारप्राप्त व्यक्ति त्यस्तो घर वा जग्गामा प्रवेश गर्न सक्ने व्यवस्था राखिएको छ।

हवाई दुर्घटना हुनबाट बचाउन वा त्यस्तो घर वा जग्गामा भएको कुनै उपकरणको आपतकालीन मर्मत कार्य गर्नुपरेमा पूर्वसूचना नदिएर पनि जुनसुकै समयमा विमानस्थल सञ्चालकबाट अख्तियारप्राप्त व्यक्ति त्यस्तो घर वा जग्गामा प्रवेश गर्न सक्नेछ।

प्राधिकरणले विमानस्थलको प्रस्थान, आगमन तथा उडान विधि, उडान मार्ग, हवाई क्षेत्र वर्गीकरण एवं हवाई क्षेत्रको संरचना तयार गरी लागू गर्नुपर्नेछ। हवाई सेवाको सञ्चालनका लागि आवश्यक पर्ने उड्ययन मौसमी सूचना सेवा नेपाल सरकारले तोकेको निकायले सञ्चालन गर्ने व्यवस्था विधेयकमा राखिएको छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App