११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकार डेकेन्द्र हत्या प्रकरण : मुख्य आरोपित १५ वर्षपछि पक्राउ

हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापा ।

दैलेख– २०६१ साउन २७ गते दैलेखको नौमुलेस्थित द्धारीको जंगलमा कुटपिट गरि जिउँदै खाल्डो खनेर गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाका मुख्य आरोपितलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मुख्य आरोपित चार जनामध्ये दुल्लुनगरपालिका–६ छिउँडीपुसाकोटका बमबहादुर खड्का (अरुण) लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। मंगलबार नै प्रहरीले जिल्ला अदालत दैलेखमा उपस्थित गराएको थियो।

फरार सूचीमा रहेका खड्कालाई अदालतले पुर्पक्षमा राख्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी विनोद आर्चायले बताए। मुल्तवीमा रहेको कर्तब्य ज्यान मुद्दा जगाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सूचना अधिकारी आर्चायले बताए। हत्या आरोपित खड्कालाई कैलालीबाट प्रहरीले पक्राउ गरि दैलेख ल्याएको हो।

जिल्ला अदालत दैलेखले २०७१ मंसीर २१ गते फरार भनिएका खड्कासहित ४ जनालाई हाजिर भएका वा पक्रिएका वखत वा अवधि पुगेपछि जगाई कारबाही र किनारा गर्ने आदेश दिएको थियो। २०६१ साउन २७ गते हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव लामो समय खोजीनिति गरि २०६५ सालको भदौंमा उत्खनन् गरि सामाजिक संस्कारअनुसार काजक्रिया गरिएको थियो।

डेकेन्द्र पत्नी लक्ष्मीका तर्फबाट जाहेर मुद्दामा दुवै पक्षका कानुनी व्यवसायीको लिखित बहस नोट र प्राप्त मिसिल अध्ययन गरेर तत्कालिन दैलेख जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार फैसला सुनाएका थियो। फैसलामा प्रतिवादी बीरबहादुर केसी र लक्षीराम घर्तीको कैद भुक्तान भैसकेकाले कैद मुक्त गर्न र निरक घर्तीमगर १ महिना, हरिलाल पुन, जयबहादुर शाहीलाई बाँकी कैद भुक्तानका लागि ४ महिना २९ दिन कैद असूल गराउन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले फैसला सुनाएका थिए। उनीहरुले कैंदल भुक्तान गरि घर फर्किसकेका छन्। फरार ४ जना मध्ये बमबहादुर खड्का अरुण पक्राउ परे पनि अन्य ३ जना  बमबहादुर खड्का मुक्ति, केशव खड्का र भक्तिराम लामिछाने फरार छन्। उनीहरुका हकमा मुलुकी ऐन अ.ब. १९० नम्बर बमोजिम मुल्तबीमा राखिएको अदालतले जनाएको छ।

०६९ पौसमा ५ जना आरोपितलाई प्रहरीले हत्या आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। उनीहरु सबै कैंद भुक्तान गरिसकेका छन् भने बाँकी ४ जना फरारमध्ये १ जना पक्राउ परेका हुन्।
 

 

प्रकाशित: २१ फाल्गुन २०७६ ०८:४३ बुधबार

पत्रकार_डेकेन्द्र_हत्या आरोपित