१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीको कहर : उपचार नपाएरै जान्छ ज्यान

मृतक कल्पना आचार्य । तस्बिरः सामाजिक सञ्जालबाट

वीरेन्द्रनगर- सल्यान शारदा नगरपालिका-८, मर्कीकी २१ वर्षीया कल्पना आचार्य फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भइन्। उनलाई तत्काल जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइयो। उनको अवस्था चिन्ताजनक हुँदा स्वास्थ्यकर्मीले तत्काल हेलिकोप्टरबाट उनको उद्दार गर्नुपर्ने बताए। २०/२५ मिनेटमा उद्दार नभए कल्पनाको ज्यान तलमाथि हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ थियो। परिवार तत्काल उद्दारका लागि सहयोग माग्न थाले। सल्यानका जनप्रतिनिधि, प्रशासनलाई गुहारे।

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा उद्दारका लागि पत्र काट्यो। उपचारमा लाग्ने सम्पूर्ण खर्च कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले व्यहोर्ने जिल्ला प्रशासन कार्यालयमा पत्र पठायो। तर, पनि गृह मन्त्रालयले समयमै हेलिकोप्टर पठाउन सकेन। अन्तः समयमै उपचार नपाएर १९ घण्टापछि जिल्ला अस्पतालमै कल्पनाको मृत्यु भयो। उनी जस्तै मंगलबार जीप चालक कालीकोटका चक्रबहादुर खड्कासहित जीप कर्णाली नदीमा खस्यो। समयमै उनको उद्दार नहुँदा उनी नदीमा वेपत्ता छन्। यी दुई कर्णालीका पात्र मात्र हुन्। कर्णालीका विपन्न र विकट ठाउँमा बसोबास गर्ने नागरिक उपचार नपाएरै मर्नु पर्ने बाध्यता छ।

‘समयमै उद्दार भएको भए छोरी जीवित हुन्थि,’ कल्पनाका बुवा कृष्ण आचार्यले भने, ‘छोरीको समयमै उद्दार नहुँदा मृत्यु भयो।’ गाईवस्तुलाई घास काट्न कल्पना घर नजिकैको कोट्मेरोको रुखमा गएकी थिइन्। करिब ५÷६ मिटर तल खसेकी उनको देव्रे खुट्टा भाँचिएको थियो। नसा पनि छिनेको थियो। दिदी ऐश्वर्याले थाहा पाएपछि अस्पताल लिन तयारी भयो। बुवा कृष्ण आचार्य पनि आए। अस्पताल लिनासाथ स्वास्थ्यकर्मीले अवस्था चिन्ताजन भएको बताए। ‘डाक्टरले २०÷२५ मिनेटभित्र सुविधा सम्पन्न अस्पताल लिए बाच्ने सम्भावना भएको भनेका थिए,’ मृतक कल्पनाका बुवा कृष्णले भने, ‘२०/२५ मिनेट भनेको १९ घण्टासम्म पनि उद्दार हुन सकेन।’

सल्यानबाट नजिकको नेपालगन्ज लिने आफन्तको तयारी थियो। ‘गृह मन्त्रालयले साँझ ६ बजेसम्म हेलिकोप्टेर पठाउँछ भन्ने थियो,’ उनी भन्छन्, ‘अनि रात परेकाले हेलिकोप्टेर आउन सकने भन्ने सूचना आयो।’ अस्पतालमा मृत्युसँग लडिरहेकी कल्पनालाई हेरेर परिवार बिहानी सूर्यको पर्खाइमा बस्यो। ‘उज्यालो भएपछि हेलिकोप्ट आउँछ र उद्दार गर्छ। अनि हाम्रो छोरी बाच्छे भन्ने लागेको थियो,’ उनले भने, ‘छोरीको मृत्यु भयो। हेलिकोप्टर आएन।’ कल्पनाको ५ गते बिहान ५ बजे मृत्यु भएको थियो। १२ कक्षा उत्र्तीण गरेकी कल्पनाल घरायसी काममा आमालाई सघाउँथिन्।

चार सन्तानमध्येकी कान्छी कल्पना पढाइमा उत्तिकै तकडा थिइन्। कल्पनाको आमा अशक्त हुँदा आमालाई सघाउन उनी रुखमा गएकी थिइन्। बाबा कृष्ण पनि घरमा थिएनन्। आमा शारदा २०५९ चैत ८ गते घाँस काट्न जंगल गएका बेला एम्बुसमा परेर घाइते भएकी थिइन्। शारदाको दायाँ खुट्टामा गहिरो चोट लागेको छ।
कर्णालीका हुम्ला, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, कालीकोटलगायत ग्रामीण क्षेत्रका बासिन्दा आर्थिक अभाव र दुर्गमताका कारण अकालमै ज्यान गुमाउन बाध्य छन्।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र औषधि नहुँदा पनि यहाँका बासिन्दाले उपचार पाउन सकेका छैनन्। उद्धारका लागि सरकारी उदासिनताका कारण पनि बर्सेनी कर्णालीवासीले ज्यान गुमाउनु पर्छ। सरसफाइका कारण यहाँ बर्सेनी विभिन्न महामारीसमेत फैलिने गर्छ। अज्ञानता, भौगोलिक विकटता, गरिबीले ग्रामीण क्षेत्रका वासिन्दा स्वास्थ्य संस्था आउँदैनन्।

 

 

प्रकाशित: १४ फाल्गुन २०७६ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App