नुवाकोट- वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अबको शिक्षा पढाउने नभई सिकाउनेमा आधारित हुनुपर्ने बताएका छन्। त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९औँ वार्षिक उत्सव तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री पौडेलले विद्यालय तथा क्याम्पसको शिक्षा परीक्षामा मात्र केन्द्रित हुने तर प्रतिफल शून्य हुने गरेको गुनासो गरेका छन्।
कितावमा भएको अधिकांश विषयवस्तुहरु किन पढाए शिक्षकलाई थाहा नहुने र किन पढे भन्ने विषयमा विद्यार्थी जानकार नहुने भन्दै मुख्यमन्त्री पौडेलले पढेका विषयवस्तु सिक्ने गरि र पढेका विषय बारबार प्रयोगमा आउनेगरि पढ्नु आवश्यक रहेको बताए।
आफू समानुपातिक नारा लिएर अघि बढिरहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशको १३ वटै जिल्लाको विकासको लागि यो र त्यो नभन्ने बताएका छन्। कुन जिल्लामा के आवश्यक छ त्यसको पहिचान गरेर बजेट विनियोजन गरिरहेको उनको भनाई छ।
कार्यक्रममा संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले शिक्षा नै विकासको आधार रहेको भन्दै संस्कृति, सभ्यता, ज्ञान र चेतनाको प्रवद्र्धन र सम्वद्र्धन गर्ने थलोको रुपमा विद्यालयलाई लिन आग्रह गरे।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) मार्फत गरिबी निवारणको लागि जापानी कोषको सहयोग र एशिएन विकास बैंकको प्रशासनिक सहयोगमा त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको थियो। १० करोड ७ लाख रुपैयाँमा १२ कोठे विद्यालय भवन, ६ कोठे प्रयोगशाला भवन, महिला छात्रवास, चमेना गृह, शौचालय लगायतको भौतिक संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए।
प्रकाशित: १४ फाल्गुन २०७६ १४:१३ बुधबार