काठमाडौ – राजधानीको प्रदूषण बढाउन गाडीहरूको उत्सर्जनसँगै आगो बाल्दा निस्कने धुवाँ पनि जिम्मेवार रहेकाले शिवरात्रिको अवसरमा सकेसम्म कम दाउरा बाल्न सरोकारवालाहरूले अनुरोध गरेका छन्।
विगत वर्षमा शिवरात्रिको एक दिनअघि र शिवरात्रिको साँझको प्रदूषण तथ्यांक हेर्दा शिवरात्रिको साँझ वायु प्रदूषण ह्वातै बढ्ने गरेको दृष्टि समूहका अजय श्रेष्ठले बताए।
यसैगरी, वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले शिवरात्रिमा धार्मिक रूपमा यत्रतत्र धुनी बाल्ने चलन भए पनि यसले राजधानी खाल्डोमा वायु प्रदूषण बढाउने बताए। ‘शिवरात्रिमा सकेसम्म कम धुनी बाल्न र प्रदूषण कम गर्न हामी अनुरोध गर्छौं,’ उनले भने।
हिउँदयाममा सडक वरपर बालिने फोहोर, प्लास्टिक तथा दाउराको आगो र धुवाँले वायु प्रदूषण बढ्ने गर्छ। हालै दिल्लीको विधानसभामा भएको विजयपछि आमआदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदूषण बढाउने भएकाले खुसीयालीमा पटका नपड्काउन समर्थकहरूलाई अनुरोध गरेका थिए। दिल्ली प्रदूषणको हिसाबले संसारकै अत्यन्त प्रदूषित सहरमा गणना हुन्छ।
बिहीबार साँझ चार बजेको प्रदूषण तथ्यांकअनुसार हावाको गुणस्तर सूचकांक अर्थात् एयर क्वालिटी इन्डेक्स (अक्वा) २१० पुगेको थियो र काठमाडौं संसारको दोस्रो प्रदूषित सहर बनेको थियो। यसैगरी, २६१ अक्वासहित भियतनामको हनोइ सहर संसारकै सबैभन्दा बढी प्रदूषित सहर बनेको थियो।
प्रकाशित: ९ फाल्गुन २०७६ ०३:५८ शुक्रबार