१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश २ मा दुर्घटनाको डरलाग्दो ग्राफ

लहान- माघ २७ गते बिहान ५ बजेको थियो। चोहर्वा–सिरहा सडक खण्ड सुनसान थियो। नरहा गाउँपालिकाको प्रशासनिक भवन नजिकै ठूलो डरलाग्दो आवाजले छेउछाउ बस्तीका स्थानीयलाई अत्यायो।

के भयो भन्दै बुझ्न मानिसहरू घरबाट सडकमा निस्के। हस्याङ फस्याङ गर्दै श्याम पौडेल पनि घटनास्थल पुगे। त्यहाँ पुग्दा मोटरसाइकल लेन क्रस गरेर बसमा ठक्कर खाएर लडेको थियो। मोटरसाइकलमा सवार दुई जना सडकको पश्चिम पट्टि छटपटाइरहेका थिए। हेर्दा हेर्दै एउटाले दम तोडेको र अर्कालाई पौडेलले उद्धार गरेर स्थानीय अस्पताल पुर्‍याएका थिए।

लु १६ प ४४४१ को मोटरसाइकलमा सवार सिरहा नगरपालिका–३ रमौल गाउँका २९ वर्षीय अमन मण्डलको लहान अस्पतालमा र अर्का ४५ वर्षीय शैलेन्द्र मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भयो।

उत्तरबाट दक्षिणतर्फ गइरहेको मण्डलद्वय सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ४ ख ९२४१ नम्बरको बससँग ठक्कर खाएको थियो। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आइरहेको उक्त मोटरसाइकल माथि चालकले नियन्त्रण गुमाउँदा लेन क्रस गरेर बससँग ठक्कर खाएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यस दुर्घटनामा मानवीय लापरबाही कारण देखिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका अनुसार, यस जिल्लामा साउनदेखि फागुन ३ गतेसम्म एकसय १८ सवारी दुर्घटना भएका छन्। जसमा ४३ जनाले ज्यान गुमाएका छन्। मोटरसाइकल संलग्न दुर्घटनामा धेरै छन्। मृतक मध्ये धेरै मोटरसाइकल सवार नै देखिएको एक्तेनले बताए।

आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा चार सय ९६ जनाको मृत्यु भएको छ। जसमध्ये २ सय जनाको मोटरसाइकल संलग्न दुर्घटनामा ज्यानगएको तथ्यांक छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा प्रदेश २ को आठ वटै जिल्लामा भएका सवारी दुर्घटनमा २ सय ८४ जनाको ज्यान गएको छ। त्यस मध्ये धेरै मोटरसाइकल संलग्न दुर्घटनामा परेर मृत्युवरण गर्ने छन्।

बढ्दै छ दुर्घटना

प्रदेश २ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको तथ्यांक डरलाग्दो छ। सबैभन्दा बढी मृत्युवरण गर्ने दुई चक्के सवारीसाधन संलग्न दुर्घटनाका छन्। चार आर्थिक वर्षको सवारी दुर्घटनाको तथ्यांकले  प्रदेश २ मा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढेको देखाएको छ।  बस, ट्रक, टिपर, मोटरसाइलक जस्ता सवारी दुर्घटनामा परेर दिनहुँ मानिसले मृत्युवरण गर्नु परिरहेको छ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार, आर्थिक वर्ष ०७६/०७७ को माघ मसान्तसम्म भएका छ सय ४० सवारी दुर्घटनामा २ सय ८४ जनाले ज्यान गुमाएका छन्। ०७५/०७६ मा चार सय ९६ जनाले दुर्घटनामा ज्यान गुमाएका छन। आर्थिक वर्ष ०७४/०७५ मा तीन सय ९४ जनाले मृत्युवरण गरेका छन्। ०७३/०७४ माचार ६ जनाको दुर्घटनामा परी मृत्यु भएको छ भने ०७२/०७३ तीन सय १४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

मुख्यकारण चालकको लापरबाही

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांकको विश्लेषण गर्दा चालककै लापरबाही मुख्यकारण देखिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख (एसपी) श्यामकुमार महतोले बताए। चालकहरूले सवारी तथा यातायात व्यवस्था नियमावलीको पालना नगरिदिँदा दुर्घटनाको अवस्था डरलाग्दो छ, उनले भने। यस प्रदेशको जिम्मेवारी सम्हालेपछि कारबाहीसँगै सचेतना अभियानलाई आठ वटै जिल्लामा तीव्रता दिएको उनले बताए। मादक पदार्थ सेवन जाँच, गतिमा पकयन्त्र (रडार गन) मार्फत दैनिकजाँच सुरु गरिएको उनले बताए। विद्यालय, समुदाय, सवारी चालक, पैदलयात्रुलाई सडकमा कसरी यात्रागर्नेबारे जानकारी गराउने अभियानलाई तीव्रता दिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App