१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सडकपेटीले बजारक्षेत्रमा आवतजावत सहज

धादिङबेंसीमा निर्माण गरिएकाे सडकपेटी। तस्बिर: सरिता/नागरिक

धादिङ – सदरमुकाम धादिङबेंसी बजारक्षेत्रको सडक दायाँ–बायाँ फुटपाथ (सडकपेटी) निर्माण गरिएको छ। नगरपालिकाले विभिन्न टोलसुधार समितिलाई जिम्मा दिई सडकपेटी निर्माण गरेको हो। फुटपाथ निर्माणका लागि नीलकण्ठ नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको छ। नगरपालिका–३ स्थित धादिङबेंसीको मुख्य बजारक्षेत्रका विभिन्न ठाउँमा पेटी निर्माण कार्य सम्पन्न भइसकेको छ भने केही ठाउँमा अन्तिम चरणमा पुगेको छ।

बढ्दो सहरीकरणका कारण खुम्चदै गएको धादिङबेंसी बजारक्षेत्रमा निर्माण गरिएको सडकपेटीले स्थानीयलाई सहज भएको छ। सडकको दायाँ–बायाँ दुवैतर्फ निर्माण गरिएको सडकपेटीका कारण स्कुले विद्यार्थीलाई झनै सहज भएको नीलकण्ठ नगरपालिका–३ का राजकुमार श्रेष्ठले बताए। ‘स्कुल जाने समयमा सवारीसाधनको चाप पनि बढी भई आवागमन अस्तव्यस्त हुने गरेको थियो,’ उनले भने, ‘सडकपेटी बनेपछि सडक पनि फराकिलो बनेको छ, हिँड्न पनि सजिलो भएको छ।’

त्यस्तै, धादिङबेंसीका सडकमा निर्माण–सामग्रीहरू जथाभावी राखेर सडकको भाग ओगट्ने चलन समस्याका रूपमा देखापरेपछि धादिङ उद्योग वाणिज्य संघ, नगरपालिकाले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित पार्ने योजना अघि सारेका छन्। नागरिक समाजको दबाबपछि उवासंघ तथा नगरपालिकाले अबदेखि निर्माण सामग्री आफ्नो पसलबाहिर राख्न नपाउने नियम बनाएका छन्। त्योसँगै बजारक्षेत्रमा सडकपेटी निर्माण कार्य अघि बढाइएको हो।

सडकपेटी निर्माणले बजारको सौन्दर्यतामात्र बढाएको छैन, आवातजावतमा पनि निकै सहज भएको स्थानीयको अनुभव छ। सडकपेटी निर्माण सकिएलगत्तै दायाँबायाँ बार लगाइने, पैदलयात्री हिँड्न व्यवस्थित गर्ने, सवारी पार्किङ व्यवस्थापन गर्ने पनि नगरपालिकाले जनाएको छ। पहिलो चरणमा दुई किलोमिटर बजारक्षेत्रको मुख्य व्यापारिक क्षेत्रमा पर्ने सडकको पेटी निर्माण गरी पैदलयात्रीका लागि आवतजावत सहज बनाइने नगरपालिकाले जनाएको छ।

आवतजावतमा सहज भए पनि निर्माण गरिएको सडकपेटी अपांगमैत्री छैनन्। अपांगता भएका व्यक्ति ह्विल चियर चढेर सजिलै गन्तव्यमा पुग्न सक्दैनन्। मुख्य सडकदेखि केही अग्लो भएका कारण ह्विलचियर उकाल्न र ओराल्न सक्ने गरि सडकपेटी निर्माण भएका छैनन्। अपांगमैत्री नभएको र ढलको व्यवस्थापन नगरी सडकपेटी बनाइएको भन्दै स्थानीयले नगरपालिकाको सो कामप्रति असन्तुष्टि पनि जनाएका छन्।

दैनिकजसो बजारक्षेत्रका पैदलयात्रीहरू विभिन्न खाले दुर्घटनामा पर्ने गरेकाले फुटपाथ निर्माण गरिएको नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले बताए। ‘सवारी दुर्घटना न्यूनीकरण र बजारक्षेत्र स्वच्छ, सफा र व्यवस्थित राख्नका लागि सडकपेटी निर्माण गरेका हौं,’ उपमेयर भण्डारीले भने, ‘हाललाई पूर्ण रूपमा अपांगमैत्री नभए पनि केही मात्रामा सहज भने भएको छ।’ धादिङ उद्योग वाणिज्य संघ र धादिङ च्याम्बर सुरुदेखि नै सडकपेटी निर्माण अभियानमा जुटेका छन्। सडकपेटी निर्माणले व्यवसायमा पनि राम्रो प्रभाव पार्ने जनाउँदै उनीहरूले त्यस्तो निर्माण अपांगमैत्री र व्यवसायमैत्री हुनुपर्ने उनीहरूको भनाइ छ। सडकपेटी निर्माणपछि स्थानीय पेटीबाट हिँड्ने हुँदा त्यसको प्रभाव व्यवसायमा पनि राम्रो पार्ने अनुमान गरिएको छ। आवातजावतका लागि सहज हुने भएका कारण धुनीबेंसी, थाक्रेलगायत ठाउँमा पनि सडकपेटी निर्माण गरिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App