२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कान्छो जिल्लामा ‘विकासको रहर’

रुकुमपूर्वको रुकुमकोट बजारमा सुन्तला बेच्दै महिलाहरू। तस्बिर: गिरिराज/नागरिक

रुकुमपूर्व – रुकुमपूर्वको सकिम गाउँबाट जिप चढेर रुकुमकोट आइपुगेकी ६० वर्षीया दिलकुमारी बुढाले आफ्नो गाउँम गाडी कुद्ला भनेर कहिल्यै सोचेकी थिइनन्। अहिले गाडी चढेर आउजाउ गर्न पाउँदा उनी दंग छिन्। ‘हिँडेर पुग्न चार घन्टा लाग्थ्यो। दुई सय रुपैयाँ भाडा तिरेर सजिलै आइयो। डेढ घन्टामा ल्याइपु-यायो होला,’ उनले भनिन्, ‘गाउँमै गाडी चढ्न पाइएला भन्ने लागेको थिएन।’ उनीसँग कुरा गरिरहँदा रुकुमकोटमा निर्माण तथा व्यावसायिक चहलपहल देखिन्थ्यो। नयाँ घर बनाउने क्रम देखिन्थ्यो। बजार विस्तारित हुने क्रममा थियो। कतै स्थानीय उत्पादन बिक्री गरेको देखिन्थ्यो त कतै नयाँ सुविधायुक्त पसल खुल्दै गरेका थिए। बिहानैदेखि रुकुमकोट बजारमा निकै चहपहल देखिन्थ्यो। यहाँ घर बनाउने क्रम पनि बढ्दै गएको छ। यहाँ बागलुङ हँुदै मध्यपहाडी लोकमार्ग र दाङबाट पनि सडक आइपुगेको छ। यहाँ मात्र होइन, कान्छो जिल्ला भनेर चिनिने रुकुमपूर्वमा विकासका प्रयास भइरहेको देखिन्छ।

रुकुमकोटलाई रुकुमपूर्वको अस्थायी सदरमुकाम बनाइएपछि चहलपहल बढेको थियो। मन्त्रिपरिषद्ले स्थायी सदरमुकाम गोलखाडा राख्ने निर्णय गरेपछि मुद्दा परेको थियो। सदरमुकाम विवादको मुद्दा संवैधानिक अदालतमा छ। तीन गाउँपालिका जोडिएर बनेको यो कान्छो जिल्लालाई विकासको बाटोमा लैजान प्रयास भइरहेको जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र वलीले बताए। रुकुमपूर्वको विकासले फड्को मार्न अझै थुप्रै योजनाको आवश्यक रहेको वलीको भनाइ थियो। उनले भनेझै ठूला विकासका आयोजना, आयआर्जन तथा कृषि पर्यटनका लागि ठूलो बजेट कार्यान्वय गर्नुपर्ने देखिन्छ। तर पनि स्थानीय तह, प्रदेश तथा संघको सहयोगमा विकासका कामहरू बढिरहेका देखिन्छन्। नेपालकै कान्छो जिल्ला तथा प्रदेश ५ को एक मात्र हिमाली जिल्लाका रूपमा रुकुमपूर्वको फरक विशेषता रहेको जिल्ला एक हजार ६ सय ६३ वर्ग किलोमिटरमा फैलिएको छ।

स्थानीयहरूको उत्साह सडकछेउमा बनाइएका घरहरू, नयाँ सुविधाको विस्तारले झल्काउँछ। सिस्ने गाउँपालिका–४ लाम्बाकोटकी ममता भन्छिन्, ‘गाउँमा फलाउन सके बजार ल्याउँदा बिक्री हुन्छ। सडकहरू बन्दै छन्। सुविधा थपियो।’ उनीजस्तै आशावादीहरू विभिन्न ठाउँमा भेटिए। रुकुमपूर्वमा भएको भौगोलिक विकटतालाई सहज बनाउन सडकलगायत पूर्वाधारमा जोड दिनुपर्ने स्थानीय बताउँछन्। मगर (खाम) जातिको बहुलता भएको जिल्ला विकासका लागि गर्नुपर्ने धेरै काम बाँकी छन्। ५२ पोखरी ५३ टापुले परिचित रुकुमकोटमा धमाधम घर बन्दै छन्। सडक, नाली तथा अन्य पूर्वाधारका काम भइरहेको देखिन्छ। यस्तै विकासको गति बढिरहेको ओली बताउँछन्। सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका छन्।

जिल्लाका ३१ वडामध्ये ११ वटामा अझै सडक नपुगेको प्रदेश सांसद तेजबहादुर वलीले बताए। २०६८ सालको जनगणनाअनुसार यस जिल्लाको जनसंख्या ५३ हजार १८ रहेको छ। मध्यपहाडी लोकमार्गबाहेक सहिदमार्ग बनेपछि यो क्षेत्र फेरिने अपेक्षा रहेको वलीको भनाइ छ। ‘मध्यपहाडीले ठूलो क्षेत्रमा सुविधा दिएको छ। उत्तरदक्षिण लोकमार्गमा पर्ने सहिदमार्ग बनेपछि जिल्लामा सडक सुविधमा विस्तार हुन्छ। कृषि, पशुपालन, पर्यटन नै विकासका मुख्य आधार हुन्,’ प्रदेश सांसद ओलीले भने, ‘ओखर जोन, स्याउको पकेट क्षेत्र, पशुपालन, कृषि तथा फलफूल र पर्यटन जोडेर विकास अगाडि बढाउन खोजिएको छ।’

शिक्षा, स्वास्थ्य, जनजीवनको हिसाबले यो जिल्ला पछाडि देखिएको छ। सुविधासम्पन्न अस्पताल तथा उच्च शिक्षाका लागि कजेल, केन्द्रीय प्रसारणको विद्युत्, सडक सञ्जाल विस्तारलगाय आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। गाउँमा अब विकासले गति पाउला भन्ने आशा रहेको लम्बाकोटकी हीरा बुढाले बताइन्। जिल्लाका बासिन्दाको उत्साह जोगाउन विकास आवश्यक देखिन्छ। सातवटा हिमाल रहेको यो जिल्लामा सांस्कृतिक, भौगोलिक हिसाबले पनि पर्यटनका लागि महत्वपूर्ण हुने बताइन्छ।

केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर विकासको गति बढाउनुपर्ने अवस्था रहेको सिस्ने गाउँपालिका प्रमुख कुमारी बराल बताउँछिन्। विस्तार विकासका कामहरू अघि बढेको उनको भनाइ छ। सडकसँग अन्य विकास बढेको देखिन्छ। बिस्तारै व्यावसायिक गतिविधि बढ्दै गएको महिन्द्रा गाडीको सोरुम सञ्चालक दीपक विष्ट बताउँछन्। विकासको गतिविधि बढेकै कारण ६ महिनाअघि सोरुम सञ्चालनमा ल्याएको उनले बताए।

प्रकाशित: २८ माघ २०७६ ०२:५८ मंगलबार

रुकुमपूर्व पूर्वाधार भौगोलिक_विकटता