४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्लाभरिमा तीनवटा मोटरसाइकल

प्रतिकात्मक तस्बिर

वीरेन्द्रनगर - मोटरसाइकल सहर बजारका प्रायः घरघरमा हुन्छन्। ठूलो परिवार छ भने एउटै घरमा तीन/चारवटा देखिन्छन् तर, कर्णालीको हिमाली जिल्ला हुम्लामा तीनवटा मात्र मोटरसाइकल सञ्चालनमा छन्। भौगोलिक विकटतासँगै सडक सञ्जालको सहज पहुँच नहुनु र हेलिकोप्टर चार्टर गरेर लिँदा ढुवानी महँगो हुँदा हुम्ली जनताले यसको प्रयोगमा खासै चासो दिएका छैनन्।

सडक सञ्जाल जोडिएका क्षेत्रमा पनि ढुवानी महँगो हुँदा सर्वसाधारण सहजै खरिद गर्न सक्दैनन्, जसले पैदल तथा क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधन प्रयोग गर्न बाध्य छन्। हाल यहाँ सिमकोट गाउँपालिका, हिल्सा–सिमकोट सढक योजना र एल्वाङ गुम्बामा एक÷एकवटा मोटरसाइकल छन्। जिल्लामा मोटरसाइलक बिक्रेता नहुँदा पनि यहाँका बासिन्दाले किन्न नसकेको यहाँका बासिन्दाको भनाइ छ।

२०७५ सालमा सिमकोट गाउँपालिकाले करिब पाँच लाख रूपैयाँमा मोटरसाइकल खरिद गरेको थियो। सुर्खेतबाट ल्याउँदा प्रतिकेजी एक सय १० र नेपालगन्जबाट ढुवानी गर्दा एक सय २० रूपैयाँमा खरिद हुने सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए। ‘पहिला मोटरसाइकल विचार गर्नलाई ल्याएका हौं,’ उनले भने, ‘अहिले अपरिकार्य जस्तै भएको छ।’ अटोमोबाइल अहिले दैनिक जीवनको अभिन्न अंग बन्दा पनि हुम्ली जनता यसबाट टाढा छन्।

हुम्ला अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन। राष्ट्रिय सडक सञ्जालसँग हुम्ला नजोडिए पनि आन्तरिक सडक सञ्जाल भने विस्तार भएका छन्। २०६८ को जनगणना अनुसार यहाँ ५० हजार आठ सय ५८ जनसंख्या छ। चीनसँग सीमा जोडिएको हिल्सादेखि हुम्ला सदरमुकाम सिमीकोटसम्मको ९४ किलोमिटरमध्ये ८४ किलोमिटर सडक खनिएको छ। सदरमुकाम सिमीकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म पाँच किलोमिटर सडक सञ्चालनमा छ। सर्केगाट गाउँपालिकादेखि चंखेलीको सत्तीसल्लासम्म ११ किलोमिटर सडक छ। हुम्लामा ६० भन्दा धेरै ठूला तथा सानासवारी साधन  सञ्चालनमा छन्।

सडक सञ्जाल विस्तार भएपछि यहाँ पनि मोटरसाइकलप्रति आकर्षण बढ्ने हिल्सा–सिमकोट सडक योजनाका प्रमुख शसांक मिश्रले जनाए। ‘हामी सडक विस्तारका क्रममा जुटेका छौं,’ उनले भने, ‘सडक भयो भने दुई पांग्रेसँगै अन्य सवारी साधान प्रयोग गर्नेको स.ख्या बढ्छ।’ सडक विस्तार नहुँदा दुई पांग्रेस सवारी साधान नभित्रिएको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले जनाए। ‘जहाज तथा हेलिकोप्टरबाट यहाँ मोटरसाइलक ढुवानी गर्नुपर्छ,’ उनले भने, ‘त्यो सम्भव छैन।’

प्रकाशित: २७ माघ २०७६ १३:५२ सोमबार

मोटरसाइकल हुम्ला