१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाबारे थाहा दिने डाक्टरको मृत्यु

बेइजिङ (एजेन्सी) – नोवल कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिकित्सक ली वेनलियाङको मृत्युलाई लिएर चीनमा व्यापक जनआक्रोश बढेको छ। भाइरस उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहानस्थित एक अस्पतालमा उपचारका क्रममा नेत्ररोग विशेषज्ञसेत रहेका उनको मृत्यु भएको थियो। कोरोना भाइरस संक्रमितको उपचार गर्ने क्रममा उनी त्यही भाइरसबाट संक्रमित बन्न पुगेका थिए।

नयाँ भाइरस देखिएको उल्लेख गर्दै गत डिसेम्बर ३० मा चिकित्सकहरूको एउटा च्याट ग्रुपमा उनले उक्त भाइरसको संक्रमणबाट बच्ने सुरक्षा उपाय अपनाउन सुझाएका थिए। उनले सोही च्याट ग्रुपमा नयाँ भाइरस सन् २००३ मा भयावह स्थिति पैदा गरेको सार्सजस्तै देखिने बताउँदै त्यसबाट सातजना संक्रमित भएको पत्ता लगाएका थिए। तर गलत तथ्य सार्वजनिक गरी अनावश्यक हल्ला मच्चाएको भन्दै चिनियाँ प्रहरीले उनीमाथि अनुसन्धानसमेत गरेको थियो। च्याट ग्रुपमा भाइरसबारे सन्देश प्रवाह गरेको चार दिनपछि नै प्रहरीले उनलाई सामाजिक व्यवस्था बिगारेको भन्ने व्यहोराको अभियोगपत्रमा हस्ताक्षर गर्न लगाएको थियो। तर पछि तथ्य सही साबित भएपछि स्थानीय अधिकारीहरूले डा. वेनलियाङसँग माफी मागेका थिए। उनले चिनियाँ बेबसाइट वाइबोमा जनवरी १० मा आफूमा खोकी देखिएको, अर्काे दिन ज्वरो आएको र दुई दिनपछि अस्पतालमा भर्ना भएको पोस्ट गरेका थिए। जनवरी ३० मा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

‘मेरो छोराले अनावश्यक हल्ला गरेको थिएन,’ मृत डाक्टरका पिता ली सुइङले बिबिसीलाई भने, ‘ अब वास्तविकता प्रमाणित भइसकेको छ।’ डा. वेनलिङको मृत्युपछि चिनियाँ नागरिकहरूले सामाजिक सञ्जालमा सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले सरकारले सुरुआततिरै भाइरसलाई कम आँकलन गरेर त्यसलाई गोप्य राखेकोमा व्यापक असन्तुष्टि जनाएका छन्। यसैगरी उनीहरूले चीनमा रहेको कमजोर वाक् स्वतन्त्रताको स्थितिमाथि प्रश्नसमेत उठाएका छन्। भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने एक चिनियाँ निकायले यो मृत्युसँग जोडिएको विषयबारे छानबिन गर्ने बताएको छ। एक चिनियाँ साइट पियर भिडियोका अनुसार मृत डाक्टरकी पत्नी गर्भवती छिन् र आगामी जुनमा उनी आमा बन्नेछिन्।

यो घटनाबाट चिनियाँ जनसमुदायमा सरकारप्रति अविश्वासको सिथति सिर्जना भएको बताइएको छ। सामाजिक सञ्जालमा ‘वुहान सरकारले माफी माग्नुपर्छ’ र ‘हामी वाक् स्वतन्त्रता चाहन्छौं’ भन्ने ‘ह्यास ट्याग’ले व्यापकता पाएका थिए। तर चीन सरकारले ती ह्यास ट्यागमाथि तत्काल सेन्सर गरेको थियो। बिबिसीले शुक्रबार यससम्बन्धी अुनसन्धान गर्दा अधिकांश ह्यास ट्याग हटाइसकिएका थिए।

‘यो नायकको मृत्यु हो,’ वाइबोमा एकजनाले भनेका छन्, ‘सत्यलाई सधैं हल्ला भन्ने गरिएको छ। सरकारले यसरी कहिलेसम्म ढाँट्ला ?’ डा. वेनलियाङको मृत्युले चीनमा राजनीतिक विपद्को स्थितिको सिर्जना भएको छ। यसले चीनको निर्देशन र नियन्त्रणमा आधारित राजनीतिक व्यवस्थामा समेत अविश्वास पैदा भएको छ र चिनियाँ कम्युनिस्ट पार्टीले त्यसलाई नदेखेको जस्तो गर्न नसक्ने स्थिति बनेको छ।

समयमै सूचना दिने डाक्टरलाई अपमानित गर्नुलाई चीनको विद्यमान राजनीतिक संरचनामा नै प्रश्नचिह्न लागेको छ। बिहीबार राति साढे ९ बजे डा. वेनलियाङको मृत्युबारे ग्लोबल टाइम्स, पिपुल्स डेलीलगायत चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका थिए। तर सुरुमा के कारणले उनको मृत्यु भएको हो भन्ने खुलाइएको थिएन। सञ्चारमाध्यमममा उनको मृत्युबारे समाचार आएपछि सरकारी अधिकारीहरूले उनको मृत्यु नभएको र उनी उपचाररत रहेको दाबी गरेका थिए। तर शुक्रबार सबेरै उनको मृत्युको घोषणा गरिएको थियो।

कोरोना भाइरसका कारण चीनमा ६ सय ३६ जनाको मृत्यु भइसकेको छ भने चीनमा मात्र ३१ हजार एक सय ९८ जनामा संक्रमण देखिएको छ। यो संसारका २५ देशमा फैलिइसकेको छ। चीनबाहिर भने दुईजनाको मात्र मृत्यु भएको छ। चिनियाँ सरकारले यो भाइरसबारे सुरुमा केही गल्ती भएको स्वीकार गरेको छ।

प्रकाशित: २५ माघ २०७६ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App