९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

चीनमा रहेका विद्यार्थी छिट्टै नेपाल ल्याइँदै

काठमाडौं – चीनमा रहेर नेपाल आउन चाहेका एक सय ७० विद्यार्थीलाई नेपाल ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरू हाल कोरोना भाइरसको उच्च प्रकोप भइरहेको त्यहाँको उहान राज्यमा रहँदै आएका छन्। चीनस्थित नेपाली विद्यर्थी तथा उनीहरूका अविभावकको चिन्ता र मागलाई सम्बोधन गर्दै छिट्टै नेपाल ल्याउन तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

शनिबार प्रधानमन्त्री केपी ओली शर्माको उपस्थितिमा बसेको बैठकले विद्यार्थीको अवस्थाबारे तत्काल जानकारी लिएर उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। चीनबाट ल्याएपछि राखिने स्थानको तयारी हुन बित्तिकै विद्यार्थीलाई नेपाल ल्याइने उनले बताए।

चीनमा रहेका नेपालीका लागि यहाँका विभिन्न स्थानमा एकल ठाउँहरू प्रस्ताव भएको र टुंगीना बाँकी रहेको छ। उनीहरूलाई नेपाल ल्याउनुअघि चीनस्थित विमानास्थल र नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा स्वास्थ्य परिक्षण गरिनेछ। संक्रमित यात्रु फेला परेमा छुट्टयाइएका अस्पतालको एकल वार्डमा राखिनेछ। अन्य यात्रुलाई दुई हप्ता निगरानीमा राखी परिक्षण गरेपछि मात्र घर जान मिल्नेछ।

हालसम्म उहानमा रहेका एक सय ७० जना विद्यार्थीले मात्र नेपाल आउने फारम भरेको मन्त्रालयले जनाएको छ। चीनवाट उद्धार भएपछि राख्नको लागि बैठकमा कीर्तिपुर आयुर्वेद अस्पताल, सैनीक तालिम केन्द्र भक्तपुर, प्रहरी तालिम केन्द्र, स्टाफ कलेज जाउलाखेल, विद्युत् तालिम केन्द्रलगायत स्थान छनेटको तयारी छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ जना शंकास्पद बिरामीको नोवेल कोरोना भाइरस संक्रमणको परिक्षण भएको र एक जनामा मात्र पोजिटिभ पाइएको छ। अहिले एक शकांस्पद बिरामीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। नेपालमा अझै नफैलिसकेको तर चीन बाहिरका अन्य देशमा फैलिरहेको अवस्थामा यहाँ पनि यसको जोखिमलाई ध्यान दिँदै प्रकोप फैलिन नदिन सरकारले प्रयास गरिरहेको प्रवक्ता श्रेष्ठले बताए। व्यवस्थापनमा भएका कमजोरी पत्ता लगाउँदै सुधार गर्ने काम भइरहेको उनको भनाइ छ।

नोवेल कोरोना भाइरस संक्रमणको कारण हालसम्म चीनमा दुई सय ५९ जनाको मृत्यु भएको छ, भने ११ हजार ९ ५३ जनामा संक्रमण भएको छ। चीन बाहिर २३ वटा देशमा एक सय ३२ जनामा भाइरस संक्रमण भइकेको छ।

उपत्यका बाहिर स्वास्थ्य डेस्क र जनचेतना
मन्त्रालयले नेपालमा भित्रिन सक्ने कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सबै प्रदेशमा पनि तयारी भइरहेको छ। जसअनुसार अन्तर्राष्ट्रिय पर्यटक भित्रिने मुख्य सहर पोखराको मणिपाल तथा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेशन वार्ड तथा जनचेतना कार्यक्रम सुरु भएको छ। स्वास्थ्य मन्त्रालयले मेडिकल डाक्टरसहितको एक÷एक स्वास्थ्य टोली पोखरा, बुटवल र चितवन खटाइएको मन्त्रालयले जानकारी दिएको छ। प्रविधिक अनुगमण समितिले त्रिभुवन विमानास्थलको हेल्थ डेस्कको अनुगमण गरेको छ। मन्त्रायकाअनुसार सञ्चारमाध्यममार्फत जनचेतना मुलक सामग्री प्रचारप्रसारको काम समेत सुरु भएको छ।

मास्कको कृत्रिम अभाव गराउनेलाई कारबाही
बजारमा मास्कको कृत्रिम अभाव सिर्जना गरी मास्क बिक्री गरेको पाइएमा कारबाही गरीने मन्त्रालेले जनाएको छ। भारत र चीन दुवै ठाउँबाट मास्क आयतमा रोकीसकेकाले नेपालबाट पनि मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेको मन्त्राललयले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा जानेको हकमा मेनपावर कम्पनीसँग मिलोमतोमा महंगो शुल्क लिएर अनिार्य रूपमा कोरोना भाइरस परिक्षण गर्ने गरेको पाइएको र उनीहरूलाईसमेत कारबाही गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठडले बताए।

प्रकाशित: २० माघ २०७६ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App