२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बिपीमा उपकुलपतिका लागि प्रतिष्ठानकै दर्जन प्राध्यापकको आवेदन

धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दौडधूप सुरु भएको छ । प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएपछि स्वास्थ्य मन्त्रालयले माघ ६ गते सूचना जारी गर्दै आन्तरिक सूची बनाउनको लागि योग्यता पुगेकालाई बायोडाटा तथा व्यक्तिगत वितरण माग गरेको थियो ।

गत शुक्रबारसम्म कति जनाले आवेदन दिए भन्ने नखुले पनि दर्जन हाराहारीमा प्रतिष्ठानकै प्राध्यापक चिकित्सक रहेको बुझिएको छ । प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको गएको सिनेट बैठकमा जानकारी दिइएको थियो ।

उपकुलपतिको लागि प्रतिष्ठानको हाल कार्यवाहक उपकुलपति एवं रेक्टर डा. गुरु खनालसहित हाडजोर्नी विशेषज्ञ एवं पूर्वरेक्टर डा. वीक्रम श्रेष्ठ, फरेन्सिक विशेषज्ञ एवं हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रेक्टर डा. बिएन यादवले पनि आवेदन दिएका छन् । यस्तै, प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीव शर्मा, डा.प्रह्लाद कार्की, डा.पारसकुमार पोखरेल, डा.बद्रीप्रसाद बडु, हालै अवकाशप्राप्त डा. सिएस अग्रवाल, हाडजोर्नी विभाग प्रमुख डा.पशुपति चौधरीलगायतलले पनि आवेदन दिएका छन् ।

प्रतिष्ठानभित्रबाट सबैभन्दा बढी कार्यवाहक उपकुलपति एवं रेक्टर डा.खनालको सम्भावना छ भने प्रतिष्ठान बाहिरबाट डा.ज्ञानेन्द्र गिरी, डा.गेहनाथ बराल, प्रा.डा.नारायणविक्रम थापाको पनि प्रमुख दाबेदारकोरुपमा नाम चर्चामा छ । ती मध्ये डा.गिरी स्वास्थ्यमन्त्री ढकालको रोजाईमा रहेको चर्चा छ । यद्यपी, उनी विराट मेडिकल कलेजमा स्थापनाकालदेखि नै कार्यरत हुन् । उनी उक्त कलेजको सञ्चालक पनि भएकोले प्रतिष्ठानमा ल्याउन नहुने तर्क पनि चलिरहेको छ ।

अर्का सम्भावना भएका डा.बराल कोशी अस्पतालबाट वेतलबी विदामा बसेर हाल झापाको विर्तामोडस्थित बिएण्डसि अस्पतालमा कार्यरत रहेकोले उनी पनि विवादित छवि बोकेका चिकित्सक हुन् । प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. खनाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकट हुन् । पार्टी अध्यक्षबाट उनलाई ग्रिनसिग्नल भए पनि अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट पनि सहमति पाए मात्र सिफारिसमा पर्ने र नियुक्तिको ढोका खुल्ने स्रोत बताउँछ ।

आवेदन दिएका डाक्टरमध्येबाट छनौट तथा सिफारिस समितिले ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्री ओलीसमक्ष सिफारिश गर्नेछ । तीमध्येबाट एक जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्ति गर्नेछन् । त्यसैले आवेदन दिएकाहरू ३ जनाभित्र अटाउन अहिले शक्तिकेन्द्र धाइरहेका छन् । मन्त्रालयले स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्सा शिक्षा क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान तथा व्यवस्थापनमा कम्तीमा १५ बर्ष अनुभव प्राप्त गरेकाले आवेदन दिनसक्ने जनाएको थियो । तत्कालिन उपकुलपति डा.राजकुमार रौनियारलाई घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको थियो । ड. रौनियार निलम्बनमा परेपछि उपकुलपति पद रिक्त छ ।

प्रतिष्ठानभित्रैबाट उपकुलपति बनाउन माग
प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठानमा नै कार्यरत सक्षम तथा योग्य प्राध्यापकमध्येबाट उपकुलपति बनाउन माग गरेको छ । साथै, समाजले उपकुलपति नियुक्तिमा आर्थिक लेनदेन नगर्न पनि माग गरेको छ । समाजका अध्यक्ष डा.विष्णु पोखरेलल र महसचिव डा. एसपी रिमालले उपकुलपत छनोट समितिका संयोजकसमेत रहेका सहकुलपति तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र पठाउदै यस्तो माग गरेका हुन् ।

समाजले प्रतिष्ठानलाई सुधार गर्नुपर्ने चुनौती एवं समस्याहरुको पनि उल्लेख गर्दै प्रतिष्ठानलाई प्राज्ञिक, दृढ इच्छाशक्ति भएको, प्रतिष्ठानको मिसन, भिजन र गोललाई बुझेको साथै सबै तह र तप्कालाई समेटेर लैजानसक्ने नेतृत्व ल्याउन पनि माग गरेको छ । देशमा बन्दै गएको प्रतिष्ठानलाई नेतृत्व गर्नसक्ने व्यक्तिहरु प्रतिष्ठानका फ्याकल्टी भएको भन्दै समाजले आफ्नै प्रतिष्ठानको नेतृत्व गर्न पनि सक्षम रहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

प्रकाशित: १९ माघ २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App