७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चीनबाट नेपाली फर्काउन सरकारको तयारी

काठमाडौं– प्राणघातक कोरोना भाइरसको महामारी फैलिएसँग विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकाल घोषाणा गरेको छ । छिमेकी मुलुक चीनमा करिब तीन सयजनाले ज्यान गुमाइसकेको र १२ हजार हाराहारीमा संक्रमित भएको तथ्यांक सार्वजनिक भएपछि नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न प्रयास थालेको हो । कोरोनाको महामारी फैलिएको चीनको हुबेमा रहेका नेपालीलाई घर फर्काउन नेपाल सरकारले तयारी थालेको हो ।

सरकारले भाइरसको महामारी फैलिएको हुबे प्रान्तसहित अन्य भूभागमा रहेका नेपालीलाई लक्षित गरी चार्टर विमान तयारी हालतमा राखेको छ ।

सरकारले भाइरसको महामारी फैलिएको हुबे प्रान्तसहित अन्य भूभागमा रहेका नेपालीलाई लक्षित गरी चार्टर विमान तयारी हालतमा राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनबाट नेपालीलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमका दुई जहाज तयारी हालतमा राखिएको बताए ।

बेइजिङस्थित नेपाली दूतावासले पनि हुबेमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन विमानको व्यवस्था गरिने जनाएको छ । दूतावासले शनिबार सार्वजनिक सूचनामार्फत विमानबाट नेपाल फर्कन इच्छुक व्यक्तिलाई फारम भर्न अनुरोध गरेको छ । दूतावासले आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकेको छ । नेपाल फर्कन चाहनेहरुको आवेदनका आधारमा विशेष उडानको विवरण तय हुने दूतावासले जनाएको छ ।

उडानपूर्व विमानस्थलमा गरिने स्वास्थ्यजाँचको नतिजाबाहेक सूचनामा भनिए बमोजिमको आवश्यकता पूरा गर्न नसके कानुनबमोजिम कारबाही भोग्नुपर्ने चेतावनी दूतावासले दिएको छ । चीनले भने नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी आफूहरुले गर्ने बताएको छ । नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने दाबी गरेको छ ।

कोरोना भाइरसको संक्रमण अहिले नेपालसहित भारत, श्रीलंका, जापान, थाइल्यान्ड, सिंगापुर, हङकङ, दक्षिण कोरिया, भियतनाम, मकाउ, युएई, अष्ट्रेलिया, ताइवान, मलेसिया, फ्रान्स, स्पेन, जर्मनी, बेलायत, इटाली, अमेरिका, क्यानडा, कम्बोडिया र फिनल्यान्ड गरी २५ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यता चीनबाट त्रिभुवन अन्तर्राट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्नेलाई स्वास्थ्य परीक्षण गरेर मात्र आफ्नो गन्तव्यमा जान दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विमानस्थलमा रहेको हेल्थ डेस्कमार्फत यात्रुको नियमित स्वास्थ्य परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । स्थलमार्ग हुँदै नेपाल छिर्ने व्यक्तिहरुलाई पनि परीक्षण गरेर मात्र नेपाल भित्रिने व्यवस्था मिलाएको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको विश्वव्यापी संकट घोषणा गरेसँगै मन्त्रालयले उच्च सतर्कताका साथ तयारी थालेको प्रवक्ता श्रेष्ठको दाबी छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नेतृत्वमा अनुगमन समिति बनाएर नियमित काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १९ माघ २०७६ ०१:५८ आइतबार

कोरोना_भाइरस_संक्रमण सरकार