५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नयाँ भवनमा सरे कैदी

दोलखा- साँघुरो भवनमा कष्टकर दैनिकी गुजार्दै आएका दोलखा कारागारकाका कैदी बिहिबार फराकिलो र सुविधा सम्पन्न भवनमा सरेका छन्।     

सरकारले ७ बर्ष अघिदेखी ठेकेदार मार्फत निर्माण थालेको दोलखा कारागारको नयाँ भवनमा बिहिबार कैदीहरुलाई स्थानान्तरण गरिएको हो।

नयाँ भवन बनेपनि सार्ने प्रक्रियामा ढिलाई हुँदा कारागारमा रहेका १ सय ९ जना कैदी १७ जना क्षमताको महिला कैदीहरुका लागी बनाईएको सानो भवनमा कोचाकोच तरिकाले बस्दै आएका थिए। कारागार भित्र पुरुष कैदीका निम्ती छुट्टै सातकोठे भवन बनाईएको थियो। उक्त भवन ७ बर्ष अघि नै निर्माण थालिएपनि ठेकेदारको लापरवाही र ढिलासुस्तीका कारण अलपत्र पर्दै आएको थियो।

कैदीहरुको कष्टकर जीवन देखेपछि दुई महिना दिन अघि दोलखा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नयाँ भवनमा स्थानान्तरणका लागी तारजाली हाल्ने सहितका बाँकी काम टुङग्याउन पहल गरेका थिए।

बिहिबार जिल्ला कारागार कार्यालयले कारागार व्यवस्था विभागका महानिर्देशक गजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा एउटा समारोह गरी कैदी बन्दीहरुलाई नयाँ भवनमा स्थानान्तरण गरेको हो।

कार्यक्रममा महानिर्देशक श्रेष्ठले देशभरका कारागारहरुलाई सुधार गृहका रुपमा रुपान्तरण गर्ने सरकारी योजना अनुसार बिभागले काम गरिरहेको सुनाए। कैदी बन्दीहरुको अवस्था बारे बुझ्न बिभागले देशैभरका कारागारहरुमा उच्चतम प्रविधिको उपयोग गर्न लागेको श्रेष्ठले सुनाए। ‘कैदीहरुलाई मेरो समस्या सरकारले सुन्दैन कि भन्ने चिन्ता हुन सक्छ’ उनले भने – ‘उनिहरुको दिनचर्या र समस्या बारे निगरानी गर्न प्रविधिको उपयोग गर्ने गरी तयारी गर्दैछौं’।

स्थानान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतिरमण पोखरेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष जिवन लामा लगायतले बोलेका थिए।

भवन निर्माण सम्पन्न भएपछि कैदीहरुका निम्ती केही सहज भएको कारागार प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले जानकारी दिए।

नयाँ भवनमा सातवटा फराकिला कोठाहरु, व्यवस्थित शौचालय , बाथरुम र अगाडी घाम ताप्ने ठुलो बरण्डा समेत छ। कारागार प्रमुख आलेले यस अघिको महिला भवन र नयाँ पुरुष भवन गरेर दुवैमा कैदी बन्दीहरुलाई व्यवस्थापन गरिने सुनाए।

 

प्रकाशित: १६ माघ २०७६ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App