८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सामुदायिक वन छाडेर गाउँ फर्कंदै भूकम्पपीडित

सेलाङ गाउँपालिका–१ स्थित मञ्जुदेउराली सामुदायिक वन अतिक्रमण गरेर बस्दै आएका भूकम्प पीडितका अस्थायी टहरा। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – बिनासकारी भूकम्पपछि हिमाली गाउँ सेलाङको बाँसखर्क र काफ्लेडाँडाको सामुदायिक वन क्षेत्रमा आश्रित भूकम्प पीडित थातथलोमा पुनःस्थापना हुन सहमत भएका छन्। डिभिजन वन कार्यालयको पहलमा साढे चार वर्षदेखि बस्दै आएको स्थानीयहरू वन छोडेर आफ्नै गाउँ पुनःस्थापना हुन सहमत भएका हुन्।

जिल्लाको जुगल गाउँपालिका–१ स्थित मञ्जुदेउराली सामुदायिक वनमा ५१ घरपरिवार अस्थायी टहरा निर्माण गरेर बसोबास गर्दै आएका थिए। डिभिजन वन कार्यालयका अधिकारीले वन क्षेत्र छोडेर आफ्नै गाउँमा पुनःस्थापना हुन अनुरोध गर्दै पीडितका आश्रस्थलसम्म पुगेका थिए। पीडितले छिट्टै वन क्षेत्र खाली गराउने सहमति जनाएको जिल्ला वन अधिकृत तुलाराम घिमिरेले बताए। ‘दुई पक्षबीचको छलफलबाट वन छोड्ने सहमति भएको हो,’ उनले भने।

यसअघि गाउँ पुनःस्थापना हुन वडा कार्यालय र डिभिजन वन कार्यालयले अनुरोध गर्दै आएपनि उनीहरू अटेर गरेर बस्दै आएका थिए। भूकम्पपछिको आपतकालीन् अवस्थामा स्थानीयवासी यहाँ आश्रय लिन पुगेका थिए। सेलाङ सेपगाउँका १८ परिवार बाँसखर्क तथा गोल्चे खानीगाउँ र लिदीगाउँका २० परिवार काफ्लेडाँडामा बसिरहेका थिए। उनीहरू छुट्टिएर अहिले ५१ परिवार भएका थिए।

सामुदायिक वनको जमिनमा आश्रित धेरैले अनुदानबाट आफ्नै गाउँमा घर बनाइ सकेका छन्। तर घरमा बस्न आलटाल गरिरहेका थिए। डिभिजन वनको तथ्यांक अनुसार वन क्षेत्रमा आश्रितमध्ये ३५ परिवारले अनुदानको तेस्रो किस्तासमेत लिएका छन्। एक÷एक परिवारले पहिलो र दोस्रो किस्ता अनुदान पाएकाको बताइएको छ। बाँकी ६ परिवारले जग्गा किनेर घर बनाइसकेका छन्।

जग्गा नभएका दुई परिवारले मात्रै घर बनाउन सकेका छैनन्। जग्गा प्राप्तिका लागि पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गर्न उनीहरूलाई सुझाव दिएको डिभिजन वन अधिकृत घिमिरेले जानकारी दिए। जग्गा नभएका पीडितलाई प्राधिकरणले जग्गा खरिद गर्नका लागि दुई लाख रुपैयाँसम्म अनुदान दिँदै आएको छ। वन कार्यालय र पीडितबीच अहिले उनीहरुले बारीमा लगाएको अन्नबालीको उब्जनी स्थानीय आफैँले भित्र्याउने र त्यसपछि उक्त जग्गामा खेतिपाती नलगाउने सहमति भएको छ।

पीडितको अवस्थालाई ध्यान दिएर बाली भित्र्याउन दिनेका लागि लचिलो बनेको वन अधिकृति घिमिरेको भनाइ छ। सदरमुकामबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरूले वन क्षेत्र छोड्न मानेका थिएनन्। कतिपय पीडितले आफू बसेको टहरोमै होटल, पसलसमेत सञ्चालन गरेर आर्थिक आम्दानी गर्दै आएका थिए। त्यसै कारणले गर्दासमेत स्थानीयले टहरो भत्काउन मानेका थिएनन्।

विज्ञहरूका अनुसार जोखिमपूर्ण रहेको सेपगाउँका एउटा टोलका १९ परिवार भने काफ्लेडाँडा नजिक एकीकृत बस्ती निर्माण गरेर बसोबास गरेका छन्। सामुदायिक वनमा आश्रित पीडितलाईसमेत एक गैरसरकारी संस्थाले एकीकृत बस्ती निर्माण गरेर बसोबास गराउन खोजेको थियो। तर उनीहरू नमानेपछि त्यो सम्भव हुन सकेन। भूकम्पपछि बाँसखर्क र काफ्लेडाँडामा गोल्चे, गुम्बा, सेलाङका विभिन्न गाउँका गरी झण्डै पाँच सय परिवार आश्रित थिए।

५१ परिवारबाहेक सबै पीडित आफ्नै थातथलो र वैकल्पिक स्थान रोजेर फर्किसकेका थिए। वन अधिकृत घिमिरेले सामुदायिक वन अतिक्रमण गरेर बसिरहेका भूकम्प पीडितलाई फर्काउँने प्रयास भइरहेको बताए। लिसंखुपाखर गाउँपालिकाको सिक्रे र ताम्चे सामुदायिक वनमा थप ४२ परिवार भूकम्प पीडित अझै बस्दै आएको उनले जानकारी दिए। उनीहरूलाई पनि वन क्षेत्र छोड्न अनुरोध गरिरहेको वन कार्यालयको भनाइ छ।

प्रकाशित: १४ माघ २०७६ ०४:२२ मंगलबार

भूकम्पपीडित सामुदायिक_वन पुनःस्थापना