पोखरा – २०७१ असोज अन्तिममा अन्नपूर्ण फेरोको पदमार्ग क्षेत्रमा आएको हिमआँधीमा परेर पदयात्रामा रहेका स्वदेशी र विदेशी गरी ४२ जनाले ज्यान गुमाए र कैयौं घाइते भए। ‘हुदहुद’ नामक उक्त आँधीपछि नेपालका साहसिक मानिएका पदमार्गको सुरक्षबारे प्रश्न उब्जिए।–२०७५ असोज अन्तिम साता म्याग्दीको गुर्जा हिमाल (७,१९३ मिटर) आरोहण गर्न गएको टिम नै प्राकृतिक प्रकोपको चपेटामा प-यो। त्यतिबेला पाँच दक्षिण कोरियाली आरोही र उनीहरूका चार नेपाली सहयोगीले ज्यान गुमाए।
गत फागुन दोस्रो साताको भीषण हिमपातले पुरिएका अन्नपूर्ण आधार शिविर (एबिसी) का होटल भदौ पहिलो सातादेखि मात्र सञ्चालनमा आए। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति नभए पनि व्यावसायीले लामो समय होटल खोल्न नपाउँदा नोक्सानी बेहोर्नुपरेको थियो। गत कात्तिकमा एबिसीको पदयात्रामा गएका पोखरेली युवाहरू हिउँको ढिस्कोमा पुरिँदा एकजनाले ज्यान गुमाए भने दुईजना घाइते भए।
गत शुक्रबार एबिसी पदमार्गमै आएको हिमपहिरोमा परेर हराएका चार कोरियाली पदयात्रीर तीन नेपाली गाइड अझै फेला परेका छैनन्। पदमार्गमा हिँडिरहेका बेला एकाएक माथिबाट आएको हिमपहिरोले पदयात्रीलाई सोहोरेको थियो। उनीहरूको खोजी भइरहेको छ।
नेपालका साहसिक मानिएका पदमार्गमा प्राकृतिक विपत्तिले निम्त्याएको क्षतिका यी केही उदाहरण मात्र हुन्। कहिले हिमपहिरो त कहिले आँधी र कहिले हिमपातले पछिल्लो समय नेपालको पदयात्रा क्षेत्र जोखिमपूर्ण बन्दै गएको छ।
बारम्बार पदमार्गमा क्षति हुन थालेपछि सुरक्षित पदयात्राबारे प्रश्न उठ्न थालेको छ। साहसिक मानिएको पदयात्रा असुरक्षित बन्दै गएको भन्दै पदयात्रा व्यावसायीले पनि चिन्ता जनाउन थालेका छन्। एकै रुटमा बारम्बार मानवीय क्षति नै हुनेगरी घटना हुन थालेपछि व्यावसायीको चिन्ता बढेको छ। ‘साहसिक मानिएको पदयात्रा क्षेत्र नै जोखिमपूर्ण बन्दै गएको छ। यसले व्यवसायीलाई चिन्तित बनाएको छ,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको विपद् व्यवस्थापन टिमका संयोजक दीपकराज अधिकारीले भने, ‘बारम्बार पदयात्रा क्षेत्रमा एकैखाले घटना दोहोरिन थालेका छन्। यसले नेपालको पदयात्राबारे अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश फैलिएको छ।’ अन्नपूर्ण क्षेत्रकै पदमार्गमा बढी घटना हुँदा त्यसले अन्नपूर्ण क्षेत्रकै पर्यटन व्यवसायमा मार पर्ने र त्यसको असर पोखराले समेत खेप्नुपर्ने उनले बताए।
अधिकारीका अनुसार गत शुक्रबार हिमपहिरो आउने समय सामान्य अवस्थामा भन्दा छिटो थियो। बिहान १० बजेतिरै एबिसी पदमार्गको हिङ कु केभ र देउरालीबीचको खण्डमा हिमपहिरो खसेको थियो। एक व्यवसायीका अनुसार हिमाली क्षेत्रमा हिमपहिरो आउने समय यतिबेला होइन। ‘चर्काे घाम लागेपछि मध्याह्नपछि मात्र हिमपहिरो आउने हो। तर गत शुक्रबार त बिहान १० बजे नै भीषण हिमपहिरो झ¥यो,’ उनले भने, ‘मध्याह्न १२ देखि १ बजेतिर चरक्क घाम लागेको बेला हिउँ पग्लिँदै गएर हिमपहिरो झर्ने हो। तर गत शुक्रबार हिमपात भइरहेको बेला बिहानै भीषण पहिरो गयो।’
चैत–वैशाखतिर मध्याह्नमा चर्काे घाम लागेको बेला घामले पग्लेर हिउँको थुप्रो खस्ने क्रममा पहिरोको रूप लिने भए पनि यसपटक चिसोयाममै भीषण हिमपहिरो झरेको उनले बताए। ‘कुनै बेला हिमपहिरो झर्न सक्ने अवस्था यी घटनाले पुष्टि गरेको छ,’ उनले भने, ‘हिमपहिरो आउन अब चैतवैशाखको मध्याह्न नै हुनुपर्ने अवस्था रहेन।’ व्यवसायीहरूका अनुसार गत शुक्रबार हिमपहिरो झरेको ठाउँ हिंकु केभ र देउरालीबीचको खण्ड हो। त्यो खण्ड बाह्र्रैमास जोखिमपूर्ण क्षेत्रका रूपमा रहेको उनीहरूको भनाइ छ।
टानका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलका अनुसार एबिसी पदमार्गको पदयात्राका क्रममा मोदी खोलाको किनारबाट हिँड्नुपर्छ। पदमार्ग पर्ने अनकन्टार खोंचको टुप्पोमा हिमचुली छन्, जहाँ पर्याप्त हिउँ जम्छ। ‘पदमार्गको सिरानमा छाता ओढेजस्तो गरी हिउँ जमेको हुन्छ। बेलाबेला त्यही हिउँ तल खस्दा पहिरोको रूप लिन्छ,’ पौडेलले भने, ‘केही कम्पन भयो भने त झनै हिउँका ठूल्ठूला ढिक्का नै खस्छन्। चरक्क घाम लाग्दा पनि हिउँका ढिक्काले ठाउँ छाड्दा पहिरोको रूप लिन्छ।’
पौडेलका अनुसार पदमार्गको सिरान क्षेत्रमा कति परिमाणमा हिउँ संकलन हुन्छ र त्यहाँको अवस्था कस्तो छ भन्नेबारे अहिलेसम्म कसैले अध्ययन गरेको छैन। शुक्रबार हिमपहिरो खसेको क्षेत्रमा पर्ने दोभान–देउराली खण्डमा आउजाउ गर्दा करिब पाँच घण्टा समय लाग्छ। ‘खोंचैखोंच पदयात्रा गर्ने हो। सिरानतिर फर्केर हेर्दा ठूलो चट्टान मात्र देखिन्छ। त्यसमाथि थुप्रिएको हिउँ तल झर्दा सिधै पदमार्गमा बजारिन पुग्छ,’ पौडलले भने। बर्सेनि हजारौं विदेशी पर्यटक पदयात्रामा जाने एबिसी पदमार्गलाई अब सुरक्षित बनाउन जरुरी रहेको उनले बताए। यो पदमार्गमा सन् २०१८ मा ३३ हजार ६ सय ८३ जना विदेशी पर्यटक गएका थिए। सन् २०१९ मा पहिलाको संख्या घटेर २८ हजार आठ सय ६० मा झरेको थियो।
नेपाल आएका विदेशी पर्यटकमध्ये १६ प्रतिशत हाराहारीमा पदयात्रामा जान्छन्। पोखरा भित्रिएकामध्ये पनि करिब ४० प्रतिशत पाहुना आसपासका क्षेत्रको पदयात्रामा जाने गरेको बताइन्छ। पदमार्गको छोमरोङदेखि एबिसीसम्म तीन रात चार दिनको एकतर्फी पदयात्रा अवधि हो। त्यो अवधिमा छोमरोङबाट हिँडेका पर्यटकको पहिलो दिनको बास दोभान, दोस्रो दिन देउराली र तेस्रो दिन आधार शिविर हुन्छ।
पछिल्लो समय जलवायु परिवर्तनको असरले पनि तापक्रम बढ्दै जाँदा त्यसको मार हिमाली क्षेत्रमा बढी देखिएको व्यावसायीको अनुमान छ। त्यसैले जोखिमपूर्ण बन्दै गएको एबिसी पदमार्गको केही खण्डलाई वैकल्पिक रुट दिनुको विकल्प नरहेको व्यावसायीको भनाइ छ।
अहिले सबैभन्दा बढी हिमालयदेखि देउराली हुँदै बगरसम्मको क्षेत्र बढी जोखिमपूर्ण मानिएको छ। यो भनेको करिब एकदिनको पदयात्रा हो। त्यस खण्डमा खोंचको बाटो हिँड्नुपर्छ। त्यसैले त्यो रुटलाई विकल्प दिएर मोदीको पारिपट्टिबाट आउजाउ गराउने व्यवस्था मिलाउने हो भने एबिसीको पदयात्रा सुरक्षित हुने टान पदाधिकारीको भनाइ छ। अधिकारीका अनुसार पदमार्ग सुरक्षित बनाउन त्यस क्षेत्रको जोखिमबारे अध्ययन गर्नुपर्छ। पदमार्गलाई विकल्प दिन मोदी खोलावारपार गर्न मिल्नेगरी खोलामा झोलुंगे पुल बनाउनुपर्छ। अहिले छोमरोङबाट अघि बढेपछि मोदीको बायाँबाट पदयात्रा हुन्छ। त्यही क्षेत्रमै बसोबासका लागि होटल पनि छन्।
पदयात्रा सुरक्षित गराउन हिमालयबाट मोदी तारेर पल्लोपट्टिबाट पदयात्रा सञ्चालन गराउन सकिन्छ। मोदी तरेपछि देउराली निस्कनेगरी मोदीमै अर्काे पुल आवश्यक पर्छ। मोदीको दायाँ खण्डको सिरानमा उति सारो हिउँ जम्दैन। त्यसैले त्यो क्षेत्र केही सुरक्षित मानिन्छ। खोलाको दायाँबाट पदयात्रा सञ्चालन गरे पनि अहिलेको अवस्थामा बास बस्न भए पनि बायाँपट्टि आउनुपर्ने बाध्यता रहेको छ। व्यासायीका अनुसार एबिसीको पदयात्रालाई सुरक्षित बनाउन जोखिमपूर्ण क्षेत्र भनेर ठाउँ तोकिदिनुपर्छ। त्यस्तै ठाउँठाउँमा सूचना बोर्ड राख्नुपर्ने आवश्यकता छ। पदमार्गका होटलमा पर्यटकको विवरण राख्नुपर्ने, स्याटेलाइट फोन राख्नुपर्ने, जोखिमपूर्ण क्षेत्र पार गर्न समय तोकिदिनुपर्ने, पदमार्गलाई विकल्प दिनुपर्ने व्यावसायीको सुझाव छ। ‘असुरक्षित पदमार्गलाई सुरक्षित बनाउने हो भने मात्र एबिसीको पदयात्रा जोगिनेछ,’ अधिकारीले भने, ‘एबिसीको पदयात्रा सधैंका लागि जोखिमपूर्ण बन्दै गएको छ।’
प्रकाशित: १० माघ २०७६ ०३:०७ शुक्रबार