१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पक्की भवनमा फुरुंग विद्यार्थी

मूलपानी (धादिङ) - २०७२ वैशाखमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित महेन्द्रोदय मावि तहसनहस बन्यो। विद्यालयले त्रिपाल र पुरानो जस्ता संकलन गरी पढाइ सुचारु ग-यो। चार हिउँद र चार बर्खा अस्थायी टहरामा कठिनाइका साथ पढ्न बाध्य भएको कक्षा १२ मा अध्ययनरत सुस्मिता अधिकारीले बताइन्।

‘भूकम्पपछि अस्थायी टहरामा बसेर पढ्नु पर्दा डरैडरले पढाइ पनि बिर्सने र विद्यालय आउन पनि मन लाग्दैनथ्यो,’ उनले भनिन्, ‘बर्खामा कक्षाकोठाभित्र पानी चुहिँदा पढाइ नै प्रभावित हुने गरेको थियो।’ ४ वर्ष अस्थायी टहराले थेगेको विद्यालयमा अहिले पक्की भवन निर्माण भएको छ।

पक्की भवन निर्माणपछि विद्यार्थी खुसी भएका छन्। ‘नयाँ भवन पाएसँगै हामी उत्साहित छौं, अब पढाइ प्रभावित हुँदैन,’ अधिकारीले भनिन्, ‘अब पढाइको स्तर पनि केही परिवर्तन हुनेछ र बर्खा तथा हिउँदमा कुनै समस्या झेल्नुपर्दैन।’ भूकम्पपछि दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गर्दथ्यो। निर्माण भएको भवनले विद्यार्थीको पढाइमा सुधार हुने अपेक्षा गरिएको छ।

नयाँ भवनमा पढ्न पाएपछि सुस्मिता मात्र होइन, कक्षा ९ मा पढ्दै आएका सनोज कँडेल पनि कम्ती खुसी छैनन्। अस्थायी टहरामा कष्टका साथ पढ्दै आइरहेका उनी पक्की भवन, शौचालय, ल्याबको सुविधासहितको सेवा पाएपछि फुरुङ्ग छन्।

अब विद्यालयले खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित सञ्चालन गर्ने हो भने सुनमा सुगन्ध हुने उनले बताए। निर्माण गरिएको विद्यालय भूकम्पप्रतिरोधी छ भने छात्रछात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ। विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ। ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको छ। विद्यालय भवन निर्माणपछि पढाइमा पनि सहज भएको सो विद्यालयका प्रधानाध्यपक कुमार नेपालीले बताए।

‘भूकम्पले विद्यालय भत्कियो, ४ वर्षसम्म कष्टका साथ टहरामा पढायौं,’ उनले भने, ‘अहिले २० कोठे भवन निर्माण भएको छ, अब सहज हुनेछ।’ विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशालाको समेत निर्माण गरिएको छ। फर्निचरका सामग्रीसहित भ्याटबाहेक ७ करोड ३१ लाख रूपैयाँ लागतमा भवन निर्माण गरिएको हो।

जापानी सहयोग नियोग (जाइका) को सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङले विद्यालय भवन निर्माण गरेको हो। शौचालयसहित ६ वटा भवनमा २० वटा कक्षाकोठा निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) धादिङका प्रमुख युवराज बगालेले बताए। ‘विद्यार्थीको आवश्यकताअनुसार ६ वटा विद्यालय भवन दुई वर्षमा निर्माण सकिएको छ,’ उनले भने, ‘जिल्लाका अन्य ठाउँमा पनि विद्यालय पुनर्निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ।’

भूकम्पमा जिल्लाका अधिकांश विद्यालय भत्किएका थिए। भत्किएका विद्यालयको संरचना निर्माण तथा पुनर्निर्माणका लागि विभिन्न सरकारी निकाय तथा संघसंस्थाले काम गरिरहेका छन्। तर, समयमै भवन निर्माण हुन नसक्दा हजारौं बालबालिका चिसो भुइँ र खुला आकाशमा पढ्न बाध्य छन्। निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमीजस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भइरहेको सरोकारवाला बताउँछन्।

केन्द्रीय आयोजनाअन्तर्गत जाइकाको ऋण सहयोग, एसियाली विकास बैंक (एडीबी) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा विद्यालयहरू पुनर्निर्माणको क्रममा छन्। हालसम्म जिल्लाभर दुई सय ४६ विद्यालयका दुई हजार चार सय ५० कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन्। निर्माण सम्पन्न गरिएका विद्यालयमा पठनपाठनसमेत सुचारु भइसकेको आयोजनाका इन्जिनियर निर्मल बोगटीले बताए।

बोगटीका अनुसार संघसंस्था, विद्यालय व्यवस्थापन समिति र ठेक्का गरी तीन किसिमले विद्यालय निर्माण भइरहेको छ। संघसंस्थामार्फत ६३ वटा विद्यालयका ९ सय ८ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् भने २ सय २८ कक्षाकोठा निर्माणाधीन छन्। विद्यालय व्यवस्थापन समितिमार्फत एक सय ७६ विद्यालयका एक हजार दुई सय ६१ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् भने १ सय ९४ विद्यालयमा ४ सय ६४ कक्षाकोठा निर्माणाधीन छन्। ठेक्कामार्फत ७ वटा विद्यालयमा ६१ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् भने ५५ विद्यालयमा ४ सय ५८ कक्षाकोठा निर्माणाधीन छन्।

प्रकाशित: २ माघ २०७६ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App